© 2026
काठमाडौँ । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने अवैध गतिविधिमाथि कडा निगरानी राख्दै प्रभावकारी रूपमा नियन्त्रण गर्न निर्देशन दिएका छन् ।
लुम्बिनी प्रदेशअन्तर्गत पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीका सीमा क्षेत्रको शनिबार अवलोकनपछि उनले सीमा अपराध नियन्त्रण तथा राजस्व चुहावट रोक्न नतिजामुखी ढङ्गले काम गर्न निर्देशन दिएका हुन् ।
महानिरीक्षक पौडेलले कार्यक्षेत्रमा खटिने सशस्त्र प्रहरी कर्मचारीले सकारात्मक सोच, फरक कार्यशैली र उच्च जिम्मेवारीबोधका साथ इमानदारीपूर्वक काम गर्नुपर्नेमा जोड दिए ।
“असल मनसायका साथ गरिएको कामकारबाहीमा भएका कमी–कमजोरीको जिम्मेवारी सङ्गठनले लिनेछ,” उनले भने । उनले सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रणमा कुनै सम्झौता नगरी कडाइका साथ लाग्न तथा कुनै पनि आर्थिक प्रलोभनमा नपर्न निर्देशन दिए ।
महानिरीक्षक पौडेलले बाढी, पहिरो र डुबानजस्ता विपद्जन्य घटनामा तत्काल परिचालन हुन सक्ने गरी तालिमप्राप्त जनशक्तिलाई आवश्यक उद्धार सामग्रीसहित तयारी अवस्थामा राख्न पनि निर्देशन दिएका छन् ।
सशस्त्र प्रहरी बलका सह प्रवक्ता शैलेन्द्र थापाका अनुसार महानिरीक्षक पौडेलले सीमा सुरक्षा र विपद् व्यवस्थापन दुवै क्षेत्रमा प्रभावकारी तयारी कायम राख्न मातहतका निकायलाई विशेष निर्देशन दिएका हुन् ।