© 2026
कर्णाली ।
कर्णाली प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको छ । प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्री पदका लागि दाबी पेस गर्न आह्वान गरेको हो ।
प्रदेश प्रमुख यज्ञराज जोशीले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई साउन १२ गते साँझ ५ बजेसम्म मुख्यमन्त्री पदका लागि दाबी पेस गर्न आह्वान गरेका हुन् । प्रदेश प्रमुखका सचिव हिरालाल चौधरीले यसबारे जानकारी दिए ।
यसअघि शनिबार मुख्यमन्त्री यामलाल कँडेलले दिएको राजीनामा प्रदेश प्रमुखले स्वीकृत गरेका थिए ।
प्रदेशसभामा मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि उनले पदबाट राजीनामा दिएका हुन् । असार ३२ गते नेपाली कांग्रेस र नेकपाका १६ जना प्रदेशसभा सदस्यले उनीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए ।
कँडेल पहिलो पटक २०८० चैत २७ गते नेकपा एमाले–नेकपा माओवादी केन्द्रको गठबन्धनबाट मुख्यमन्त्री बनेका थिए । त्यसपछि केन्द्रमा राजनीतिक समीकरण परिवर्तन भएपछि नेपाली कांग्रेसको समर्थनमा आधा–आधा कार्यकाल बाँडफाँट गर्ने सहमतिअनुसार उनले २०८१ साउन २१ गते दोस्रो पटक विश्वासको मत प्राप्त गरी मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।