Butwal Today

नागढुंगा–सिस्ने खोला सुरुङमार्ग सोमबार उद्घाटन हुँदै

१० श्रावण २०८३, आइतबार
अ+
अ-

काठमान्डौँ

काठमान्डौँ  र धादिङलाई जोड्ने नागढुंगा–सिस्ने खोला सुरुङ मार्ग सोमबार औपचारिक रूपमा उद्घाटन हुँदैछ । करिब २९ अर्ब रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको यो आयोजना शिलान्यास भएको करिब ७ वर्षपछि सञ्चालनमा आउन लागेको हो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ कात्तिक ४ गते सुरुङ मार्गको शिलान्यास गरेका थिए । प्रारम्भिक सम्झौताअनुसार निर्माण कार्य ४२ महिनाभित्र सम्पन्न हुनुपर्ने भए पनि कोभिड–१९ महामारी, मुआब्जा विवादलगायतका कारण आयोजना ढिलाइ भएको थियो ।

शिलान्यासको करिब चार वर्षपछि, २०८० साउन २२ गते ‘रेस्क्यु टनेल’को ब्रेकथ्रु गरिएको थियो । उक्त कार्यक्रममा तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, राज्यमन्त्री नन्दा चपाईं, नेपालका लागि जापानका राजदूत किकुता युताका तथा जाइका प्रमुखलगायतको उपस्थिति रहेको थियो ।

रेस्क्यु टनेलको ब्रेकथ्रु हुँदा मुख्य सुरुङको करिब ८२ प्रतिशत निर्माण सम्पन्न भइसकेको थियो भने ५०६ मिटर खन्न बाँकी थियो । त्यसको करिब १० महिनापछि, २०८१ असार ३ गते तत्कालीन प्रधानमन्त्री ८८पुष्पकमल दाहाल ‘प्रचण्ड’८८ले मुख्य सुरुङको ब्रेकथ्रु गरेका थिए ।

मुख्य सुरुङको लम्बाइ २।६८ किलोमिटर रहेको छ भने २।५५७ किलोमिटर लामो आपतकालीन ९रेस्क्यु० सुरुङ पनि निर्माण गरिएको छ ।

आयोजना निर्माणका लागि प्रारम्भमा जापान सरकारको साढे १६ अर्ब रुपैयाँ र नेपाल सरकारको ६ अर्ब रुपैयाँ लगानी रहने गरी सम्झौता भएको थियो । निर्माणका क्रममा लागत बढेपछि जापान सरकारले थप ५ अर्ब रुपैयाँ ऋण सहायता उपलब्ध गराएको थियो। आयोजना निर्माणको जिम्मा जापानको हाज्मा आन्दो कर्पोरेसनले लिएको हो ।

सुरुङ सोमबारदेखि सञ्चालनमा आए पनि पहिलो दिन आपतकालीन प्रयोजनका सवारीसाधनलाई मात्र प्रयोग गर्न दिइनेछ । त्यसपछि चरणबद्ध रूपमा निजी तथा सार्वजनिक सवारीसाधनलाई सञ्चालन अनुमति दिइनेछ । पैदलयात्री, दुईपाङ्ग्रे सवारीसाधन तथा डिजेल, पेट्रोललगायत प्रज्वलनशील पदार्थ बोक्ने सवारीलाई भने सुरुङमार्ग प्रयोग गर्न अनुमति हुने छैन ।

सुरुङमार्ग प्रयोगका लागि शुल्क निर्धारण गरिएको छ । कार तथा भ्यानले काठमाडौँ प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ । मिनीबस तथा टिपरका लागि प्रवेश शुल्क ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ तोकिएको छ । बस तथा ट्रकले प्रवेश गर्दा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ तिर्नुपर्नेछ । हेभी ट्रकका लागि प्रवेश शुल्क ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ निर्धारण गरिएको सरकारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?