© 2026
हङकङ ।
शक्तिशाली टाइफुन ‘नाउल’ आइतबार बिहान दक्षिणी चीनमा ठोक्किएपछि ग्वाङडोङ प्रान्तमा तीव्र हावाहुरी र भारी वर्षा भएको छ । आँधीका कारण सात लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ भने सयौँ उडान र रेल सेवा रद्द गरिएको छ ।
चीनको राष्ट्रिय मौसम केन्द्रका अनुसार ‘नाउल’ आइतबार बिहान ३ः५० बजे दक्षिणी ग्वाङडोङ प्रान्तको हुइझोउ सहरअन्तर्गत हुइडोङ काउन्टीको तटीय क्षेत्रमा ठोक्किएको हो । चीनको सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार यो वर्ष चीनमा ठोक्किएको सबैभन्दा शक्तिशाली टाइफुन हो ।
हङकङको मौसम विभागका अनुसार आँधीको केन्द्रनजिक अधिकतम हावाको गति प्रतिघण्टा ११० किलोमिटर पुगेको थियो । ग्वाङडोङको भित्री भूभागतर्फ अघि बढ्दै गर्दा ‘नाउल’ क्रमशः कमजोर भए पनि विभिन्न क्षेत्रमा तीव्र हावाहुरी र भारी वर्षा भएको थियो ।
सरकारी स्वामित्वको चाइना नेसनल रेडियोका अनुसार ग्वाङडोङमा सुरक्षाका लागि सात लाख १५ हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । चाइना न्युज सर्भिसका अनुसार आँधीका कारण आइतबारका लागि प्रान्तका केही रेल सेवा पनि रद्द गरिएको थियो ।
चीनको राष्ट्रिय मौसम विज्ञान केन्द्रले दक्षिणी ग्वाङडोङ र दक्षिणपूर्वी फुजियान प्रान्तका केही क्षेत्रमा भारी वर्षा र तीव्र हावाहुरीको चेतावनी दिएको थियो । सरकारी प्रसारण संस्था सीसीटीभीका अनुसार ग्वाङडोङको तटीय हुइलाइ काउन्टीमा आँधीका कारण धेरै रूख ढलेका छन् ।
हङकङ विमानस्थल प्राधिकरणका अनुसार आइतबार करिब ३५० उडान रद्द गरिएको छ । हङकङका अधिकारीले आँधीका कारण सहरभरि कम्तीमा नौ जना घाइते भएको बताएका छन् ।
स्थानीय प्रहरीका अनुसार ‘नाउल’ हङकङनजिक पुग्दै गर्दा शनिबार दिउँसो एउटा अग्लो भवनमा जडान गरिएको मचानको केही भाग भत्किएको थियो । प्रारम्भिक विवरणअनुसार उक्त घटनामा कोही पनि घाइते भएका थिएनन् ।
ताइवानको केन्द्रीय मौसम प्रशासनका अनुसार ‘नाउल’का कारण ताइवानको दक्षिणी तथा पूर्वी क्षेत्रमा वर्षा भएको थियो । आँधी ताइवानको दक्षिणी समुद्री क्षेत्र हुँदै अघि बढेको थियो ।
यसै महिनाको सुरुमा टाइफुन ‘भाभी’ले पूर्वी चीनमा तीव्र हावाहुरी र भारी वर्षा गराउँदा २० लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको थियो । ‘भाभी’ जुलाई ११ मा चीनको जमिनमा ठोक्किएको थियो । यसअघि जुलाई ३ मा टाइफुन ‘मेसाक’ दक्षिणी चीनमा ठोक्किएको थियो ।