© 2026
सैनामैना । रूपन्देहीको सैनामैना नगरपालिका–३ मुर्गियास्थित नवदुर्गा भवानी मन्दिर ९प्रस्तावित शैलपुत्री शक्ति पीठ० मा हरिशयनी एकादशीको पावन अवसरमा भव्य श्रृङ्गारिक महाआरती सम्पन्न गरिएको छ।
धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्रका रूपमा विकसित हुँदै गएको मन्दिर परिसरमा शनिबार साँझ विशेष धार्मिक समारोहका बीच महाआरती सम्पन्न भएको हो। कार्यक्रममा ठूलो संख्यामा श्रद्धालु भक्तजनको सहभागिता रहेको थियो।मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद कँडेल ले नवदुर्गा भवानी मन्दिरलाई यस क्षेत्रकै प्रमुख धार्मिक तथा सांस्कृतिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यका साथ विभिन्न धार्मिक गतिविधि सञ्चालन भइरहेको जानकारी दिए।
उनले प्रस्तावित शैलपुत्री शक्ति पीठ निर्माणको अभियानलाई व्यवस्थित रूपमा अघि बढाइएको उल्लेख गर्दै हरिशयनी एकादशीका अवसरमा सम्पन्न श्रृङ्गारिक महाआरतीले धार्मिक पर्यटन प्रवर्द्धन, सनातन धर्म तथा संस्कृतिको संरक्षण र स्थानीय पहिचान प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।“हामी आगामी दिनमा पनि यस्ता धार्मिक अनुष्ठानलाई निरन्तरता दिँदै मन्दिरलाई राष्ट्रियस्तरको आस्थाको केन्द्रका रूपमा विकास गर्ने अभियानमा जुटेका छौँ,” अध्यक्ष कँडेलले बताए।
कार्यक्रममा सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्मा, निवर्तमान नगरप्रमुख चित्रबहादुर कार्की, समाजसेवी प्रेमबहादुर बानियाँ तथा चित्र के।सी। को आतिथ्यता रहेको थियो।मन्दिर व्यवस्थापन समितिका सचिव गोकर्ण आचार्य ले सञ्चालन गरेको कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी तथा विभिन्न क्षेत्रका श्रद्धालु भक्तजनहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
श्रृङ्गारिक महाआरतीसँगै भजन–कीर्तन, दीप प्रज्वलन तथा सामूहिक पूजाआराधनासमेत गरिएको आयोजकले जनाएको छ। धार्मिक आस्था, सामाजिक सद्भाव र सांस्कृतिक संरक्षणलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रमले मन्दिर परिसरलाई भक्तिमय वातावरणमा परिणत गरेको थियो।