© 2026
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पदबाट राजीनामा दिएका छन् ।
शनिबार बसेको प्रदेशसभा बैठकमा आफ्नो धारणा राख्दै उनले मुख्यमन्त्री पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।
काँग्रेस र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले उनी विरुद्ध असार ३२ गते अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । सोही प्रस्तावमाथिको छलफलमा भाग लिँदै कँडेलले आफ्नो भनाइ राखेपछि पदबाट राजीनामा दिएका हुन् ।
राजीनामा घोषणा गर्दै उनले आफ्नो लागि कुर्सी ठुलो विषय नभएको बताए । कँडेल २०८० चैतको अन्तिम साता मुख्यमन्त्री नियुक्त भएका थिए । सुरुमा माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री बनेका उनी २०८१ साउनदेखि काँग्रेससँगको गठबन्धन सरकारको नेतृत्व गर्दै आएका थिए ।
आफ्नो कार्यकालमा थुप्रै सुधारका काम भएको उल्लेख गर्दै कँडेलले अब बन्ने सरकार कति समय टिक्छ भन्नेबारे अहिले नै भन्न नसकिने बताए । ‘म यहाँ आउँदै गर्दा नेकपा (एमाले) का दुई अध्यक्ष बसिरहनुभएको छ । उहाँहरूसँग टेलिफोनमा पनि कुरा भएको थियो,’ उनले भने ।
कम्युनिस्ट दलहरू फेरि एक हुने सङ्केत गर्दै उनले नयाँ बन्ने सरकारको आयुबारे टिप्पणी गरेका हुन् । उनले प्रदेश प्रमुखलाई भेटेर राजीनामाको औपचारिक प्रक्रिया पूरा गर्ने पनि जानकारी दिए ।