Butwal Today

तोडफोडबाट पुनर्जन्मः नेपालगञ्जका ऐतिहासिक सालिक फेरि उभिए

९ श्रावण २०८३, शनिबार
अ+
अ-

 नेपालगञ्ज  ।

विभिन्न आन्दोलनका क्रममा नेपालगञ्जमा तोडफोड भएका राष्ट्रिय विभूति तथा सहिदका सालिक पुनर्निर्माण गरी शनिवार एकैसाथ अनावरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले पुनः स्थापना गरेका पाँच सालिकसँगै संविधान पिता एवं पूर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाको नयाँ सालिक पनि स्थापना गरेको हो ।

दोस्रो जनआन्दोलन (२०६२/०६३) का क्रममा तोडफोड भएको स्वर्गीय राजा वीरेन्द्र शाहको सालिक तथा जेन–जी आन्दोलनका क्रममा क्षतिग्रस्त भएका प्रथम जन निर्वाचित प्रधानमन्त्री स्वर्गीय बिपी कोइराला, लौह पुरुष गणेशमान सिंह, जननेता पुष्पलाल श्रेष्ठ र दोस्रो जनआन्दोलनका सहिद सेतु विकको सालिक पुनर्निर्माण गरी अनावरण गरिएको हो ।

यसै अवसरमा नेपालगञ्जको ट्राफिक कार्यालय नजिक संविधान पिता तथा पूर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाको नयाँ सालिकसमेत स्थापना गरिएको छ । लामो समयदेखि पुनः स्थापनाको प्रयास हुँदै आए पनि सफल हुन नसकेको स्वर्गीय राजा वीरेन्द्र शाहको सालिक यस पटक पुनर्निर्माणसँगै पुनः आफ्नो स्थानमा स्थापित भएको छ ।

जेन–जी आन्दोलनका क्रममा बिपी कोइराला, गणेशमान सिंह, पुष्पलाल श्रेष्ठ र सहिद सेतु विकको सालिक तोडफोड भएपछि नेपालगञ्ज उपमहानगरपालिकाले सबै क्षतिग्रस्त सालिक पुनः स्थापना गर्ने निर्णय गर्दै आर्थिक वर्ष २०८२/०८३ को बजेटमार्फत निर्माण तथा पुनर्निर्माणको काम अघि बढाएको थियो । सोही बजेटबाट सुशील कोइरालाको नयाँ सालिक पनि निर्माण गरिएको हो ।

शनिवार बिहान आयोजित कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले सबै सालिकको संयुक्त रूपमा अनावरण गरे । कार्यक्रममा बोल्दै उनले राष्ट्र र लोकतन्त्रका लागि योगदान पु¥याएका व्यक्तित्वहरूको सम्मान गर्नु सम्पूर्ण समाजको दायित्व भएको उल्लेख गरे ।

“हामीले राष्ट्रका लागि योगदान पु¥याउने राष्ट्रिय विभूतिहरूको सम्मान गर्न सक्यौँ भने मात्र हाम्रो पनि सम्मान हुन्छ । जसले अरूको सम्मान गर्न सक्दैन, उसले स्वयं सम्मान पाउन सक्दैन,“ मेयर विष्टले भने ।

सालिक अनावरण कार्यक्रममा उपमहानगरपालिकाका जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजका अगुवा तथा सर्वसाधारण नागरिकको उल्लेखनीय उपस्थिति रहेको थियो ।

पुनः स्थापित सालिकहरूले नेपालगञ्जका सार्वजनिक स्थललाई पुनः ऐतिहासिक गरिमा र सौन्दर्य प्रदान गर्नुका साथै राष्ट्रिय विभूति र सहिदप्रतिको सम्मानलाई थप सुदृढ बनाएको स्थानीयवासीले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?