Butwal Today

गेउरिया खोलामा पक्की पुल बनेसँगै कृषि सडकमा सहज आवागमन

९ श्रावण २०८३, शनिबार
अ+
अ-

भद्रपुर (झापा) ।  कमल गाउँपालिका–५ र ६ को सीमावर्ती मङ्गलबारे बजार पूर्व काँटा चोक नजिक रहेको गेउरिया खोलामा पक्की पुल निर्माण हुँदा वर्षा याममा स्थानीयवासीले वर्षौँदेखि भोग्दै आएको आवागमनको सास्ती हटेको छ ।

यसअघि उक्त स्थानमा रहेको कजवे (होचो) पुलबाट आवतजावत हुँदै आएको थियो । तर बर्खा याममा खोलाको बहाव बढ्ने बित्तिकै कजवे डुबानमा पर्दा सवारीसाधन सञ्चालन बन्द हुने र स्थानीय वासीलाई दैनिक आवागमन, कृषिउपज ढुवानी, विद्यार्थीको विद्यालय आवतजावत तथा बिरामीलाई अस्पताल लैजानसमेत कठिनाइ हुने गरेको थियो ।

नवनिर्मित पक्की पुल सञ्चालनमा आएसँगै साबिक तोपगाछी र लखनपुर क्षेत्रलाई जोड्ने कृषि सडक हुँदै दमकसम्मको यात्रा सहज, सुरक्षित र वर्षौँभरि सञ्चालनयोग्य बनेको छ । यसबाट स्थानीय बासिन्दा, किसान, व्यवसायी तथा सर्वसाधारण प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् ।

गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले पुल निर्माणसँगै स्थानीयवासीको दशकौँदेखिको समस्या समाधान भएको बताए । “यो पुलले साबिक तोपगाछी र लखनपुर क्षेत्रलाई जोड्नुका साथै दमकसम्मको पहुँचलाई थप सहज बनाएको छ । अब वर्षा याममा आवागमन अवरुद्ध हुने अवस्थाको अन्त्य भएको छ”, उनले भने ।

कोसी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको रु एक करोड ३१ लाख ४६ हजारको लागतमा निर्माण गरिएको उक्त पुलबाट सवारीसाधन सञ्चालन सुरु भइसकेको छ । पुलको मुख्य निर्माण कार्य सम्पन्न भए पनि रङरोगनलगायत केही अन्तिम सौन्दर्यीकरणका काम भने बाँकी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?