© 2026
काठमान्डौँ ।
राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समिति, मोरङका कार्यालय प्रमुख तथा नेपाल सरकारका उपसचिव मिक्मार तामाङ विराटनगर विमानस्थलबाट ६ लाख ६५ हजार रुपैयाँ नगदसहित पक्राउ परेका छन् ।
दोलखा जिल्लाको भीमेश्वर नगरपालिका–९ निवासी तामाङ ३ साउनमा बुद्ध एयरको विमानमार्फत विराटनगरबाट काठमाडौं जाने क्रममा पक्राउ परेका थिए । प्रहरीले भने घटनाको विवरण शुक्रबार मात्र सार्वजनिक गरेको हो ।
प्रहरीका अनुसार तामाङको झोलाबाट १ हजार दरका ५१५ थान र ५०० दरका ३०० थान नोट गरी कुल ६ लाख ६५ हजार रुपैयाँ बरामद भएको थियो । बरामद रकमको स्रोत खुलाउन नसकेपछि विमानस्थल सुरक्षामा खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मोरङको जिम्मा लगाएको थियो ।
मोरङ प्रहरी प्रमुख एसपी कविता कटवालले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिँदै बरामद रकमको वैधानिक स्रोत पुष्टि हुन नसकेकाले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको बताए ।