© 2026
काठमाडौँ । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद गहिरिँदै गएपछि कांग्रेसबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिले पार्टी एकताको पक्षमा दबाब दिन राष्ट्रिय भेला आयोजना गर्ने भएका छन्।
बिहीबार गोकर्ण रिसोर्टमा कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीको नेतृत्वमा बसेको बैठकले साउन १६ गते काठमाडौंमा राष्ट्रिय भेला गर्ने निर्णय गरेको हो। भेलामा देशभरका मेयर, उपमेयर, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष तथा सदस्यहरूलाई सहभागी गराइनेछ।
अभियानको संयोजकमा नेपाल नगरपालिका संघका अध्यक्ष तथा नीलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुंगाना र सहसंयोजकमा गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष लक्ष्मी पाण्डे चयन भएका छन्। संयोजक ढुंगानाले पार्टी विभाजन रोक्दै एकताबद्ध बनाउन शीर्ष नेतृत्वसँग छलफल गरी दबाब दिने उद्देश्यले भेला आयोजना गर्न लागिएको बताए। उनका अनुसार स्थानीय तहका जनप्रतिनिधि पार्टी फुट्न नहुने पक्षमा एकमत छन्।
भेलाका लागि राष्ट्रिय सभागृह वा नेपाल प्रज्ञा–प्रतिष्ठानमध्ये एक स्थान बुक गर्ने तयारी गरिएको छ भने सातै प्रदेशका जनप्रतिनिधिको सहभागिता रहने जनाइएको छ।