Butwal Today

कांग्रेसमा सबैलाई मिलाएर लैजानुपर्छ: सभापति थापा

७ श्रावण २०८३, बिहीबार
अ+
अ-

 

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा चार पुस्ताका साथीहरू सँगसँगै रहेकाले आफूले सबैलाई मिलाएर लैजाने बताएका छन् । कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले ४४औँ बिपी स्मृति दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले मुलुकको पछिल्लो परिस्थितिअनुसार नयाँ चिन्तन र सोचलाई पनि आत्मसात् गर्दै अघि बढ्नुपर्ने आवश्यकता औँल्याए ।

पार्टीभित्र र बाहिर सरकार तथा निर्वाचनमा मात्र बढी केन्द्रित हुने प्रवृत्ति बढेको उल्लेख गर्दै सभापति थापाले बिपीको आदर्श र त्यागबाट सिकेर निर्वाचन र राजनीतिसँगै परोपकार, सेवा तथा कल्याणका काममा जोडिन नेता–कार्यकर्तालाई आग्रह गरे । उनले भने, “रिलबाट निस्केर रियल लाइफमा हेर्नुस् । अनि मात्र सर्वसाधारण जनताका आवाज सुनिनेछन् । दुःखमा कांग्रेसले साथ दिन्छ भन्ने सन्देश दिने गरी काममा लाग्नुस् ।”

उनले तीन तहका सरकारमध्ये कांग्रेस प्रदेश र स्थानीय तहका सरकारमा रहेको उल्लेख गर्दै सङ्घीय सरकारमा मात्र प्रतिपक्षमा रहेको अवस्थामा आफ्नो क्षेत्रबाट जनजीविकाका सवालमा दत्तचित्त भएर अघि बढ्न आग्रह गरे । सभापति थापाले आगामी भदौ २४ गते बिपी जन्मजयन्तीका अवसरमा पार्टीका प्रत्येक सदस्य र समितिलाई मुलुक र जनताका लागि कुनै न कुनै प्रतिज्ञा गर्न पनि आग्रह गरे ।

कार्यक्रममा उपसभापति विश्वप्रकाश शर्माले बिपीका आदर्श, विचार र संस्कारलाई आत्मसात् गर्न सबैलाई आजका दिनमा आफ्ना क्षेत्रमा शिक्षक बन्ने सङ्कल्प गर्न आग्रह गरे । उनले पछिल्लो समय मुलुकमा जलवायु परिवर्तनका असरका कारण ठूला विपद्का घटना बढ्दै गएको उल्लेख गर्दै यसको न्यूनीकरणका लागि सबैले आफ्नो ठाउँबाट पहल गर्नुपर्ने र त्यसका लागि कांग्रेसले पनि पहल सुरु गरिसकेको बताए ।

अर्की उपसभापति पुष्पा भुसालले विशेष महाधिवेशनले पार्टी विधानलाई नयाँ ढङ्गले अघि बढाएको उल्लेख गर्दै विधानमा भएको राजनीतिक निर्वाचन ब्यूरो संयन्त्रले निर्वाचनका बेला देखिने समस्या समाधान गर्न, समावेशिता बढाउन तथा सबैमा अपनत्वको भावना विकास गर्न सहयोग गर्ने बताइन् । उनले आगामी स्थानीय तहको निर्वाचनमा प्रमुख पदमा महिला उम्मेदवार उठाउने र त्यसका लागि प्रशिक्षणसमेत दिने जानकारी दिइन् ।

महामन्त्री प्रदीप पौडेलले जनताका समस्यालाई कांग्रेसले आफ्नो एजेन्डाका रूपमा प्रस्तुत गर्ने प्रतिबद्धता व्यक्त गर्दै सिर्जनात्मक ढङ्गबाट पार्टीलाई अघि बढाउने प्रयास भइरहेको बताए । उनले पार्टीमा प्रवेश गर्न कसैलाई पनि कुनै बन्देज नरहेको स्पष्ट पार्दै नयाँ विधानअनुसार ३५ वर्षभन्दा कम उमेरका २१ जनालाई केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने व्यवस्था गरिएको जानकारी दिए । उनले क्रियाशील सदस्यतालाई व्यवस्थित बनाउन अद्यावधिक अभियान सञ्चालन गरिएको र हालसम्म ८० प्रतिशतभन्दा बढी सदस्यले अद्यावधिक गरिसकेको बताए ।

अर्का महामन्त्री गुरुराज घिमिरेले विशेष महाधिवेशनबाट नयाँ नेतृत्व आएपछि युगको आवश्यकताअनुसार नेतृत्व पुस्तान्तरण भएको र सबै निर्वाचन क्षेत्रमा पक्षपात नगरी निष्पक्ष रूपमा टिकट वितरण गरिएको जानकारी दिए । साथै पार्टीको सङ्गठन सुदृढीकरण, सदस्यता व्यवस्थापन, अनुशिक्षण तथा प्रशिक्षणलगायतका काम गरिएको उनको भनाइ थियो । उनले विशेष महाधिवेशनमार्फत कांग्रेसले ऊर्जाशील र जनभावनाअनुकूल नेतृत्व पाएपछि पार्टी थप जीवन्त बनेको बताए ।

कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले बिपीका विचार र आदर्शलाई सबैले आफ्नो चिन्तन र व्यवहारमा उतारेर अघि बढ्नुपर्ने बताए । उनले भने, “बिपीको विचार र आदर्शलाई नयाँ चिन्तनका रूपमा नेतृत्वले बोकेर मुलुकभर अभियानका रूपमा लैजानुपर्छ । इतिहासले हामीलाई सधैँ खबरदारी गरिरहेको हुन्छ । त्यसलाई हामीले महसुस गर्न सक्नुपर्छ ।”

प्रमुख वक्ता प्रा। कृष्ण खनालले बिपीका बारेमा मन्तव्य दिँदै बिपी कांग्रेसमा मात्र सीमित नभई सिङ्गो राष्ट्रको सम्पत्ति भएकाले उनलाई कांग्रेसको मात्र व्यक्तित्व बनाएर हेर्नु अन्याय हुने धारणा व्यक्त गरे । उनले भने, “बिपी आस्थाको प्रतीक हुनुहुन्छ । उहाँले आफ्नो जीवनमा अभ्यासको राजनीति खासै गर्न पाउनुभएन । अहिले हामी अभ्यासको राजनीति गरिरहेका छौँ । यस्तो अवस्थामा हामीले बिपीलाई कसरी सम्झिन्छौँ र उहाँका विचार कसरी लागू गर्छौँ भन्ने विषय महत्त्वपूर्ण छ ।”

नीति प्रतिष्ठानकी सदस्य मोहना अन्सारीले बिपीले प्रतिपादन गरेका विचार, दर्शन तथा तत्कालीन समय र परिस्थितिमा उनले कोरेको इतिहास आज पनि सबैका लागि प्रेरणाको स्रोत रहेको बताइन् ।

कांग्रेस काठमाडौँका सभापति कृष्णसबुज बाँनियाँले यस्ता कार्यक्रमले पार्टीमा नयाँ ऊर्जा थप्ने उल्लेख गर्दै पार्टीको क्रियाशील सदस्यतालाई व्यवस्थित गर्न सुरु गरिएको नयाँ अभियानलाई कसैले पनि अन्यथा लिन नहुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?