Butwal Today

कृष्णनगर विवाद: सांसद शाह र उद्योगी शर्मा आमनेसामने

७ श्रावण २०८३, बिहीबार
अ+
अ-

चन्द्रौटा । नेपाल–भारत सीमासँग जोडिएको कपिलवस्तुको कृष्णनगर पछिल्ला दिनमा राजनीतिक र व्यावसायिक नेतृत्वबिचको विवादका कारण चर्चामा आएको छ । प्रतिनिधिसभा सदस्य अभिषेक प्रताप शाह र कृष्णनगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष सिताराम शर्मा (रितेश) पक्षबिचको विवाद कानुनी प्रक्रियामा पुगेपछि घटनाले थप चर्चा पाएको हो ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार दुवै पक्षबाट एकअर्काविरुद्ध उजुरी परेपछि अनुसन्धान अघि बढाइएको छ । ज्यान मार्ने उद्योगसम्बन्धी कसुरमा प्रतिनिधिसभा सदस्य अभिषेक प्रताप शाह र कृष्णनगर नगरपालिकाका प्रमुख रजत प्रताप शाहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ भने अर्कोतर्फ वैभव प्रताप शाहको जाहेरीका आधारमा सिताराम शर्मा सहित सात जनाविरुद्ध आपराधिक उपद्रवसम्बन्धी कसुरमा मुद्दा दर्ता भएको छ ।

क्यासिनो प्रवेशको विषयबाट विवाद
विवादको सुरुआत चन्द्रौटास्थित लुम्बिनी ग्रीन रिसोर्टअन्तर्गत सञ्चालित ग्रीन ज्याकपोट क्यासिनोसँग सम्बन्धित विषयबाट भएको बताइएको छ ।

क्यासिनो स्रोतका अनुसार उद्योग वाणिज्य सङ्घका अध्यक्ष शर्माले आफू तथा आफूसँग रहेका व्यक्तिलाई क्यासिनोमा प्रवेश गराउन पटक–पटक आग्रह गरेका थिए । नेपाली नागरिकको प्रवेशसम्बन्धी व्यवस्थाका कारण विवाद उत्पन्न भएको स्रोतको दाबी छ ।

यता शर्मा भने आफू क्यासिनोमा नेपाली नागरिकको प्रवेश रोक्न आग्रह गर्न गएको बताउँछन् । त्यसपछि भएको अर्को घटनाबारे बुझ्न कृष्णनगरस्थित शाह कम्प्लेक्स पुगेको उनको भनाइ छ ।

प्रहरी स्रोतका अनुसार त्यसपछि दुवै पक्षबिच तनाव बढ्दै जाँदा शर्माको निवासमा पुगेर विवाद भएको घटनाबारे अनुसन्धान भइरहेको छ । घटनासम्बन्धी सीसीटीभी फुटेजसमेत प्रहरीले अध्ययन गरिरहेको जनाएको छ ।

दुवै पक्षका फरक दाबी
शर्माले आफू तथा आफ्नो परिवारमाथि आक्रमणको प्रयास भएको आरोप लगाउँदै कानुनी उपचार खोजेको बताएका छन् । उपचारका क्रममा भैरहवामा रहेका उनले कृष्णनगरमा कानुनी शासन कायम हुनुपर्ने धारणा सार्वजनिक गरेका छन् ।

यता सांसद अभिषेक प्रताप शाहले सामाजिक सञ्जालमार्फत आफूमाथि राजनीतिक पूर्वाग्रहका आधारमा कारबाहीको प्रयास भएको दाबी गरेका छन् । उनले न्यायिक प्रक्रियाप्रति आफूलाई पूर्ण विश्वास रहेको उल्लेख गरेका छन् ।

सर्वोच्चको अन्तरिम आदेश
जिल्ला अदालत कपिलवस्तुले जारी गरेको पक्राउ पुर्जीविरुद्ध सांसद शाह सर्वोच्च अदालत पुगेका थिए । सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले पक्राउ पुर्जी यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश जारी गर्दै गृह मन्त्रालय, जिल्ला अदालत कपिलवस्तु र जिल्ला प्रहरी कार्यालय कपिलवस्तुसँग लिखित जवाफ माग गरेको छ ।

साथै दुवै पक्षलाई छलफलका लागि बोलाइएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहका अनुसार दुवै मुद्दामा अनुसन्धान जारी छ । अदालतबाट जारी आदेशअनुसार सम्बन्धित व्यक्तिहरूको खोजी तथा आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

यस घटनाले कृष्णनगरको व्यावसायिक तथा सामाजिक वातावरणमा प्रभाव पारेको भन्दै स्थानीय सरोकारवालाले विवाद कानुनी प्रक्रियाबाटै निष्पक्ष रूपमा टुंग्याउनुपर्ने धारणा व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?