© 2026
काठमाडौँ । काठमाडौँको कीर्तिपुरमा कारभित्र जलेको अवस्थामा मृत फेला परेका सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
काठमाडौँ महानगरपालिका–२६ नरदेवी स्थायी घर भएका ७० वर्षीय श्रेष्ठ परिवारसँग कीर्तिपुरस्थित ग्रिनउड भिल्लामा बस्दै आएका थिए ।
प्रहरीका अनुसार मंगलबार बिहान करिब ११ः२० बजे श्रेष्ठ आफैँले चलाउँदै आएको बा.५ च ३०३८ नम्बरको कार लिएर ट्याङ्लाफाँटस्थित चाँदनी चोक पुगेका थिए । सडकबाट केही पर रहेको खाली जग्गामा कार पार्क गरेपछि गाडीभित्रबाट आगो सल्किएको प्रत्यक्षदर्शीले देखेका थिए ।
घटनास्थल नजिक रहेका एक युवकले आगो देखेपछि दौडिएर कारको अगाडिको ढोका खोल्ने प्रयास गरेका थिए । सिसिटिभी फुटेजमा चालकतर्फको ढोका खोल्ने क्रममा उनको हातसमेत पोलेपछि उनी पछाडि हटेको देखिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त कीर्तिपुरको अनुसन्धानअनुसार श्रेष्ठले आफैं आगो लगाएर आत्मदाह गरेको प्रारम्भिक निष्कर्ष निकालिएको छ ।
काठमाडौँका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिलीप घिमिरेले हालसम्मको अनुसन्धानमा घटनामा अन्य व्यक्तिको संलग्नता नदेखिएको बताए ।
प्रहरीले आगो नियन्त्रणमा लिएपछि चालक सिटमै श्रेष्ठको शव फेला पारेको थियो । प्रहरीका अनुसार श्रेष्ठ औषधि व्यवसायमा संलग्न थिए । कोरोना महामारीपछि व्यवसायमा घाटा बेहोरेसँगै उनी आर्थिक समस्यामा परेका थिए । पारिवारिक स्रोतका अनुसार पछिल्लो समय उनी आर्थिक तनावमा थिए ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराईले प्रारम्भिक अनुसन्धानका आधारमा आर्थिक तनावका कारण श्रेष्ठले कारभित्रै आगो लगाएर आत्मदाह गरेको हुनसक्ने देखिएको बताए ।
श्रेष्ठको शव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा पोस्टमार्टमका लागि पठाइएको छ ।
यातायात व्यवस्था विभागको अभिलेखअनुसार उनले चलाएको कार २०६२ साल कार्तिक २७ गते नबिल बैंकबाट ऋण लिएर खरिद गरिएको थियो । उक्त कार सुरेशचन्द्र श्रेष्ठ र रजनी श्रेष्ठको नाममा दर्ता रहेको प्रहरीले जनाएको छ ।