Butwal Today

असार महिनामा दाङमा  १ हजारभन्दा बढीले लिए  ई–पासपोर्ट 

६ श्रावण २०८३, बुधबार
अ+
अ-

दाङ । जिल्ला प्रशासन कार्यालय दाङले असार महिनामा चार जनालाई आमाको नामबाट नेपाली नागरिकता प्रदान  गरिएको छ ।

नागरिकता वितरणमा आमाको नामलाई आधार बनाउँदै नागरिकता जारी गरिनु कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयनका रूपमा हेरिएको छ । यस अवधिमा अङ्गीकृत नागरिकता पनि चार जनाले प्राप्त गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय दाङले सार्वजनिक गरेको असार महिनाको प्रगति विवरणअनुसार जिल्ला प्रशासन कार्यालय घोराही तथा इलाका प्रशासन कार्यालय तुलसीपुर र लमहीमार्फत असार महिनाभर कुल १६ हजार ८७८ जनाले विभिन्न प्रशासनिक सेवा प्राप्त गरेका छन् ।

तीमध्ये नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र तथा अन्य प्रशासनिक सेवाहरू प्रमुख रहेका छन् । प्रगति विवरणअनुसार वंशजका आधारमा असार महिनामा १ हजार ७४१ जनाले नयाँ नेपाली नागरिकता प्राप्त गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय घोराहीबाट ५११, इलाका प्रशासन कार्यालय तुलसीपुरबाट ६८५ र इलाका प्रशासन कार्यालय लमहीबाट ५४५ जनाले नागरिकता लिएका हुन । यसै अवधिमा चार जनालाई आमाको नामबाट र चार जनालाई अङ्गीकृत नागरिकता प्रदान गरिएको हो ।

नागरिकता सेवातर्फ १ हजार ५०० जनाले नागरिकताको प्रतिलिपि प्राप्त गरेका छन् भने तीन वटा नागरिकता रद्द गरिएको छ । नाबालक परिचयपत्रतर्फ ५२ जनालाई परिचयपत्र वितरण गरिएको प्रशासनले जनाएको छ ।

राहदानी सेवाअन्तर्गत १ हजार ४८४ जनाको ई–पासपोर्ट इन्रोलमेन्ट गरिएको छ भने १ हजार ४६८ जनालाई ई–पासपोर्ट वितरण गरिएको छ । राष्ट्रिय परिचयपत्र सेवामा सबैभन्दा धेरै सेवाग्राही सहभागी भएका छन् ।

असार महिनामा कुल ९ हजार ५३६ जनाले राष्ट्रिय परिचयपत्रका लागि दर्ता गरेका छन् । जसमध्ये घोराहीबाट ५ हजार ५५२, तुलसीपुरबाट २ हजार ५९१ र लमहीबाट १ हजार ३९३ जनाको दर्ता भएको छ ।

यस अवधिमा ३४६ जनालाई राष्ट्रिय परिचयपत्र कार्ड वितरण गरिएको छ । अन्य प्रशासनिक सेवाअन्तर्गत सात वटा मुद्दा दर्ता भई १५ वटा मुद्दा फर्छ्यौट गरिएको छ ।

त्यस्तै ३० वटा सङ्घसंस्थाको नवीकरण, १५२ वटा विभिन्न सिफारिस जारी तथा १० वटा बैठक सम्पन्न भएका छन् । सुरक्षित आप्रवासन सूचना केन्द्रमार्फत  असार महिनामा ५२६ वटा सूचना तथा परामर्शसम्बन्धी सेवा प्रदान गरिएको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?