© 2026
रुपन्देही । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रदेश सरकारहरूमा एमालेसँग गठबन्धन गरेर अघि बढ्ने तयारी गर्न पार्टी नेतृत्वलाई निर्देशन दिएका छन्। श्रीलंकाबाट फर्किएपछि उनले पार्टीभित्र र बाहिर राजनीतिक समीकरणबारे छलफल तीव्र बनाएका छन्।
काठमाडौंमा शीर्ष नेतासँग भएको छलफलमा प्रदेशलाई मध्यावधि निर्वाचनतर्फ जान नदिई एमालेसँग सहकार्य गर्नु उपयुक्त हुने निष्कर्ष निकालिएको छ। कांग्रेसलाई तीन दलको सरकारमा सहभागी हुन प्रस्ताव गरिए पनि उसले प्रतिपक्षविहीन प्रदेश सरकारको पक्षमा नरहेको भन्दै सत्ताबाहिर बस्न तयार रहेको जनाएपछि नयाँ समीकरणतर्फ छलफल अघि बढेको प्रचण्ड निकटको स्रोतले बतायो।
यद्यपि, कुन प्रदेशको नेतृत्व कुन दलले गर्ने भन्ने विषयमा भने अझै अन्तिम सहमति हुन बाँकी छ।स्रोतका अनुसार कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध राख्ने उद्देश्य र पार्टीभित्रको दबाबका कारण नेकपा–एमाले गठबन्धनको सम्भावना बलियो बन्दै गएको छ। सुदूरपश्चिम र कोशीमा बजेट विवादपछि एमाले–कांग्रेस सम्बन्ध चिसिँदै जाँदा नयाँ राजनीतिक समीकरणको चर्चा अझ तीव्र भएको छ।
प्रदेशगत अंकगणित
सुदूरपश्चिम नेकपा २२, कांग्रेस १८, एमाले ११, राप्रपा १
कर्णाली नेकपा १४, कांग्रेस १४, एमाले १०, राप्रपा १, स्वतन्त्र १
लुम्बिनी एमाले २९, कांग्रेस २७, नेकपा १३, राप्रपा ४, जसपा ३, लोसपा ३, जनमत ३, राष्ट्रिय जनमोर्चा १, स्वतन्त्र १
गण्डकी कांग्रेस २७, एमाले २२, नेकपा ७, राप्रपा २, समाजवादी १, स्वतन्त्र १
बागमती कांग्रेस ३६, नेकपा २६, एमाले २५, राप्रपा १२, नेमकिपा ३, हाम्रो नेपाली पार्टी २
मधेश जसपा–लोसपा २६, एमाले २४, कांग्रेस २२, नेकपा १५, जनमत १२, राप्रपा १, नाउपा १
कोशी एमाले ४०, कांग्रेस २९, नेकपा १७, राप्रपा ५
यदि नेकपा र एमालेबीच औपचारिक गठबन्धन बनेमा अधिकांश प्रदेशमा सरकार गठनको समीकरण फेरिने सम्भावना देखिएको छ।