© 2026
काठमान्डौँ ।
युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगारीलाई तत्काल रोक्न सम्भव नहुने भन्दै त्यसलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन सरकार केन्द्रित रहेको बताएका छन् ।
मंगलबार वैदेशिक रोजगार विभागको अनुगमनका क्रममा मन्त्री यादवले विश्वव्यापीकरणको वर्तमान परिवेशमा वैदेशिक रोजगारीलाई पूर्ण रूपमा रोक्न नसकिने स्पष्ट पारे ।
उनले नेपाली श्रमिक शोषणमा नपरून्, उचित पारिश्रमिक प्राप्त गरून् तथा आधारभूत जीवनस्तर र सेवा–सुविधा सुनिश्चित होस् भन्ने उद्देश्यले युरोपेली मुलुकसँग श्रम सम्झौता गर्न पहल भइरहेको जानकारी दिए ।
मन्त्री यादवले सुरक्षित र उच्च प्रतिफल दिने नयाँ गन्तव्यहरूको खोजी गरी वैदेशिक रोजगारीलाई थप व्यवस्थित र मर्यादित बनाउने सरकारको नीति रहेको बताए ।
उनका अनुसार आन्तरिक श्रम बजारमा देखिएका समस्या समाधान गर्न पनि मन्त्रालयले नयाँ योजना अघि सारेको छ । देशभित्र कार्यरत श्रमिकले उचित पारिश्रमिक नपाउने तथा श्रम शोषणमा पर्ने गुनासोलाई सम्बोधन गर्न श्रम विभागले छिट्टै अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याउने तयारी गरेको छ ।
उनले उक्त प्रणाली लागू भएपछि श्रमिकहरूले साना–साना कामका लागि पनि श्रम कार्यालय धाइरहनुपर्ने बाध्यता हट्ने विश्वास व्यक्त गरे ।
मन्त्री यादवले भने, ‘वैदेशिक रोजगारीलाई तुरुन्तै रोक्न सकिने अवस्था पनि छैन, न त त्यसो गर्नु उचित हुन्छ । आजको विश्व ‘ग्लोबल भिलेज’ बनेको छ, जहाँ मानिसहरूको एक देशबाट अर्को देशमा आवतजावत स्वाभाविक प्रक्रिया हो । त्यसैले हाम्रो प्राथमिकता वैदेशिक रोजगारी रोक्ने होइन, सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने हो । हामी राम्रो श्रम बजारको खोजीमा पनि छौँ, जहाँ नेपाली श्रमिक शोषणमा नपरून् ।’
उनले आन्तरिक श्रम बजारमा हुने श्रम शोषणसम्बन्धी उजुरीका लागि पनि डिजिटल प्रणाली सञ्चालन गरिने जानकारी दिँदै यसबाट सेवाग्राहीलाई सहज हुने बताए ।
मन्त्री यादवले विगतमा कानुन कार्यान्वयन कमजोर हुँदा ठगी गर्नेहरूको मनोबल बढेको स्वीकार गर्दै आगामी दिनमा त्यस्ता गतिविधिविरुद्ध सरकार कठोर रूपमा प्रस्तुत हुने चेतावनी दि ए।