Butwal Today

देशभर ७४ प्रतिशत धान रोपाइँ सम्पन्न, लुम्बिनीमा ८०.६५ प्रतिशत

४ श्रावण २०८३, सोमबार
अ+
अ-

काठमाडौं । यस वर्ष साउन ४ गतेसम्म देशभर करिब ७४ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। कृषि विभागका अनुसार धान खेती हुने कुल १३ लाख ७३ हजार ८६२ हेक्टर क्षेत्रफलमध्ये १० लाख ११ हजार ३०२ हेक्टरमा रोपाइँ सकिएको छ, जुन कुल क्षेत्रफलको ७३.६१ प्रतिशत हो।

गत वर्ष यही अवधिमा देशभर ७२.१४ प्रतिशत रोपाइँ भएको थियो। यस वर्ष समग्र राष्ट्रिय रोपाइँ दरमा सामान्य सुधार देखिए पनि केही प्रदेशमा भने गत वर्षको तुलनामा रोपाइँ घटेको तथ्यांकले देखाएको छ।तथ्यांक अनुसार सुदूरपश्चिम प्रदेशमा धान खेती हुने कुल १ लाख ६२ हजार २ सय ५० हेक्टर क्षेत्रफलमध्ये हालसम्म १ लाख ४७ हजार १ सय ६ हेक्टर अर्थात् ९०.६७ प्रतिशतमा रोपाइँ सम्पन्न भइसकेको छ । यद्यपि, अघिल्लो वर्ष साउन ४ सम्म सुदूरपश्चिममा ९६.९९ प्रतिशत रोपाइँ भइसकेको थियो ।

यस्तै मधेसमा कुल ३ लाख ८२ हजार ४ सय ३३ हेक्टर क्षेत्रफलमध्ये हालसम्म २ लाख २१ हजार ५ सय ४६ हेक्टरमा मात्र धान रोपेर सकिएको छ । यो भनेको कुल क्षेत्रफलको जम्मा ५७.९३ प्रतिशतमात्र हो । यद्यपि, गत वर्ष साउन ४ सम्म मधेसमा जम्मा ४६.८३ प्रतिशत रोपाइँ भएको अवस्था हेर्दा यस वर्ष त्यहाँ सुधार आएको छ । त्यसैगरी कुल २ लाख ७६ हजार ३ सय ८६ हेक्टर क्षेत्रफल रहेको कोशीमा हालसम्म २ लाख ४ हजार ३ सय ४७ हेक्टर अर्थात् ७३.९४ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । गत वर्ष यही अवधिमा कोशीमा ६१.७१ प्रतिशतमात्र रोपाइँ भएको थियो ।

लुम्बिनी सहित बागमती, गण्डकी र कर्णाली प्रदेशमा भने गत वर्षको तुलनामा यस वर्ष रोपाइँ दर घटेको छ । लुम्बिनीमा कुल ३ लाख १ हजार ३ सय ७२ हेक्टरमध्ये २ लाख ४३ हजार ४२ हेक्टर ८०.६५ प्रतिशतमा रोपाइँ भएको छ । गत वर्ष ८७.९३ प्रतिशत रोपाइँ भइसकेको थियो । त्यस्तै बागमतीमा कुल १ लाख १४ हजार ५ सय २४ हेक्टरमध्ये ८८ हजार ५ सय ५७ हेक्टर ७७.३३ प्रतिशत रोपाइँ भएको छ । गत वर्ष बागमतीमा ८७.१९ प्रतिशत रोपाइँ भएको थियो ।

गण्डकी प्रदेशमा कुल ९३ हजार ६ सय ६ हेक्टरमध्ये ७३ हजार ३ सय ४९ हेक्टर ७८.३६ प्रतिशतमा रोपाइँ सकिएको छ, जुन गत वर्ष ७९.२८ प्रतिशतभन्दा केही कम हो । त्यस्तै कर्णालीमा पनि कुल ४३ हजार २ सय ९० हेक्टर क्षेत्रफलमध्ये ३३ हजार ३ सय ५३ हेक्टर ७७.०५ प्रतिशत रोपाइँ भएको छ, जबकि, गत वर्ष ८७.९३ प्रतिशत रोपाइँ भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?