© 2026
गण्डकी । पोखरा उच्च अदालतमा डेढ वर्ष नाघेका मुद्दाको सङ्ख्या गत आवमा शून्यमा झरेको छ ।
अदालतमा एक वर्षदेखि १८ महिनाभित्रका आठ, छ महिनादेखि एक वर्षभित्रका एक सय ७७ र छ महिनाभित्रका तीन सय १४ मुद्दा मात्र बाँकी छन् । चार सय ९९ मुद्दा फर्छ्योट हुन बाँकी रहेको अदालतका उप–रजिष्ट्रार निलप्रसाद पनेरुले जानकारी दिए ।
अघिल्लो आवबाट जिम्मेवारी सरेर आएका सात सय ५० र नयाँ दर्ता भएका १३ सय १९ गरी गत आवमा दुई हजार ६९ मुद्दा रहेकामा १५ सय ७० अर्थात् ७५.८८ प्रतिशत मुद्दा फर्छोट भएका थिए ।
उच्च अदालतले आव २०८१/०८२ मा लक्ष्यको ७८।०७ प्रतिशत मुद्दा फर्छ्योट गरेकामा गत आवमा भने फर्छ्योट दर केही घटेको हो । गत आवमा फर्छ्योट भएका मुद्दामध्ये देवानी प्रकृतिका चार सय ७५, फौजदारी मुद्दा नौ सय तीन र रिट एक सय ९२ रहेका छन् ।
सर्वोच्च अदालतको पञ्चवर्षीय रणनीतिक योजनाअन्तर्गत अदालतले मुद्दाको फछर्योटमा तीव्रता दिँदै आएको उप–रजिष्ट्रार पनेरुले बताए । छरितो र चुस्त कार्यसम्पादनका कारण मुद्दा फछर्योटमा सुधार आएको उनको भनाइ छ ।
उच्च अदालतले जुनसुकै प्रकृतिका मुद्दालाई १८ महिनाभित्रमा फर्छ्योट गर्ने र दुई वर्ष नाघेका मुद्दाको सङ्ख्या शून्यमा पु¥याउने लक्ष्यसहित न्याय सम्पादन गर्दै आएको थियो ।
उच्च अदालतले मुद्दाका मिसिलको विद्युतीय अभिलख राख्ने कार्यलाई पनि अगाडि बढाएको छ । गत आवमा पाँच सय ४४ मिसिलको विद्युतीय अभिलेख तयार पारिएको जनाइएको छ । अदालतले हालसम्म पाँच हजार तीन सय ४१ थान मिसिलको विद्युतीय अभिलेख राखेको छ ।