© 2026
सल्यान ।
जिल्लाका दुई छुट्टाछुट्टै सामुदायिक वन क्षेत्रबाट प्रहरीले बेवारिसे अवस्थामा रहेका ६ नाल अवैध भरुवा बन्दुक बरामद गरेको छ ।
गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले आइतबार वनगाड कुपिण्डे नगरपालिका–१२ स्थित भदाले सामुदायिक वनको एक ओढारमा लुकाइराखिएको अवस्थामा ४ नाल भरुवा बन्दुक फेला पारी बरामद गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
यस्तै, इलाका प्रहरी कार्यालय दमाचौरबाट खटिएको प्रहरी टोलीले छत्रेश्वरी गाउँपालिका–१ स्थित जुगेखोला सामुदायिक वनबाट बेवारिसे अवस्थामा रहेका थप २ नाल भरुवा बन्दुक बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक देवराज भट्टराईका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
प्रहरीले यसअघि पनि जिल्लाका विभिन्न स्थानबाट ठुलो परिमाणमा अवैध भरुवा बन्दुक बरामद गर्दै आएको जनाएको छ ।