Butwal Today

कृषि आधुनिकीकरणले बढायो किसानको आशा

४ श्रावण २०८३, सोमबार
अ+
अ-

सिद्धार्थनगर । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ रुपन्देहीले चालु आर्थिक वर्ष २०८२÷८३ मा विनियोजित ८ करोड ६० लाख रुपैयाँ बजेट मध्ये असार मसान्तसम्म ७७ प्रतिशत खर्च गर्दै सिँचाइ, कृषि यान्त्रिकीकरण,मत्स्य, धान, गहुँ, केरा तथा युवा उद्यमशीलता प्रवर्द्धनका अधिकांश कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको जनाएको छ ।

कार्यक्रममार्फत लक्ष्यभन्दा बढी साना सिँचाइ आयोजना निर्माणदेखि आधुनिक कृषि प्रविधि विस्तारसम्मका कामले किसानलाई प्रत्यक्ष लाभ पुगेको कार्यक्रम कार्यान्वयन एकाइ रुपन्देहीका वरिष्ठ कृषि अधिकृत सालीकराम पौडेलले जानकारी दिए ।

उनले रुपन्देहीमा माछा सुपरजोन, आलु जोन र गहुँ जोन तथा नवलपरासी (पश्चिम) मा धान, गहुँ र केरा जोन गरी छ वटा जोन तथा सुपर जोनमार्फत विभिन्न कृषि विकास कार्यक्रम सञ्चालन गरिएका छन् । ती कार्यक्रमले उत्पादन वृद्धि, आधुनिक प्रविधिको प्रयोग तथा किसानको आयआर्जन बढाउने उद्देश्य लिएको उनले बताए ।

माछा सुपरजोनमा १० वटा बोरिङ जडान गरी करिब पाँच हेक्टर जलाशयमा पानीको सुनिश्चितता गरिएको छ भने अन्य जोन तथा सुपरजोनमा ६२ वटा बोरिङ निर्माण गरी करिब १सय ५५ हेक्टर कृषियोग्य जमिनमा थप सिँचाइ सुविधा विस्तार गरिएको कार्यालयले जनाएको छ ।

साथै सुनवल, तिलोत्तमा र सैनामैना नगरपालिकाका तीन समूह तथा सहकारीमार्फत एक हजार ४ सय ५० मिटर पक्की कुलो निर्माण गरिएको छ ।स्वाँठी कृषि सहकारी संस्था लिमिटेडलाई चारपाङ्ग्रे धान रोप्ने मेसिन, म्यानुअल सिड ट्रान्सप्लान्टर तथा प्लास्टिक ट्रे उपलब्ध गराइएको छ । सोही मेसिनबाट यस वर्ष करिब १० बिघा क्षेत्रमा धान रोपिएको छ ।

आगामी वर्ष सामुदायिक नर्सरी स्थापना गरी मेसिनमार्फत धान रोप्ने प्रविधिलाई थप विस्तार गर्ने लक्ष्य राखिएको छ ।   मत्स्य विकास कार्यक्रमअन्तर्गत एरेटर, फिडर, दाना पिस्ने मेसिन तथा बहुउपयोगी सबमर्सिबल पम्प वितरण गरिएको छ ।

त्यस्तै करिब एक लाख ४३ हजार पङ्गासियस जातका माछाका भुरा वितरण गरिएको छ । पछिल्ला दुई वर्षयता किसान पङ्गासियस पालनतर्फ आकर्षित हुँदै गएको र यस जातको उत्पादकत्व प्रतिहेक्टर ४० देखि ४५ मेट्रिक टनसम्म पुगेको कार्यालयको दाबी छ ।

युवा कृषि उद्यमशीलता कार्यक्रममार्फत दुग्ध सङ्कलन तथा प्रशोधन, गँड्यौलामल उत्पादन, व्यावसायिक च्याउ उत्पादन, हाइटेक नर्सरी तथा व्यावसायिक तरकारी उत्पादनसहित आठ वटा उद्यमलाई सहयोग गरिएको छ ।

यस्तै नवलपरासीस्थित रामग्राम सिड कम्पनीमा २०० मेट्रिक टन क्षमताको भण्डारण गृह निर्माण गरिएको छ भने केरा बजारीकरणका लागि प्याकेजिङ, लेबलिङ तथा आवश्यक उपकरणमा सहयोग छ ।

कृषि शिक्षालाई व्यवहारिक बनाउन देवदहको केउरेनी माध्यमिक विद्यालय र बुटवलको नवरत्न माध्यमिक विद्यालयमा पोखरी सुधार, मसरुम टनेल, भर्मी कम्पोस्ट बेड तथा अन्य कृषि संरचना निर्माणमा सहयोग गरिएको छ । यसबाट करिब १६५ जना कृषि विषय अध्ययनरत विद्यार्थीले प्रयोगात्मक सिकाइ गर्ने अवसर पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?