Butwal Today

लुम्बिनी अपडेट : ४ जिल्लामा सडक अवरुद्ध, ट्राफिकबाट २ लाख ७८ हजार राजस्व संकलन

४ श्रावण २०८३, सोमबार
अ+
अ-

बुटवल ।

अविरल वर्षाका कारण लुम्बिनी प्रदेशका चार जिल्लामा पहिरो खस्दा प्रमुख सडकहरू अवरुद्ध भएका छन् । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलका अनुसार अर्घाखाँची, रोल्पा, गुल्मी र पाल्पाका विभिन्न स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध भएको हो । सडक सञ्चालनमा ल्याउन प्रहरी र सम्बन्धित निकाय समन्वयात्मक रूपमा जुटिरहेका छन् ।

प्रहरीका अनुसार अर्घाखाँचीको पाणिनी गाउँपालिका–२ ढुङ्ग्रेखोलास्थित सालझण्डी–ढोरपाटन सडकखण्डमा असार २८ गते साँझ करिब ७ बजे माथिबाट ठूलो ढुङ्गा खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो । सूचना प्राप्त हुनासाथ प्रहरी चौकी खिदिमबाट प्रहरी सहायक निरीक्षक सुनिल यादवको नेतृत्वमा दुई सदस्यीय टोली घटनास्थल पुगेको थियो । ठूलो परिमाणमा ढुङ्गा खसेकाले सडक खुलाउन केही दिन लाग्न सक्ने प्रारम्भिक अनुमान गरिएको छ । सडक छिटो सञ्चालनमा ल्याउन सम्बन्धित निकायसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै, रोल्पाको परिवर्तन गाउँपालिका–१ खोलावाङस्थित घोराही–थवाङ शहीद राजमार्गमा साउन २ गते राति करिब ११ बजे माथिबाट पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो । राति ११:३० बजे प्रहरी चौकी कुरेलीमा सूचना प्राप्त भएपछि प्रहरी सहायक निरीक्षक नगेन्द्रबहादुर शाहीको नेतृत्वमा तीन सदस्यीय प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएको थियो । सडक डिभिजन तथा सम्बन्धित प्राविधिक निकायसँग समन्वय गरी पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै, गुल्मीको चन्द्रकोट गाउँपालिका–८ तल्लाफाँटस्थित मजुवा–वामीटक्सार–बुर्तिवाङ सडकखण्डमा साउन ४ गते लेदोसहितको पहिरो खस्दा सवारी आवागमन प्रभावित भएको छ । सडक खुलाउन डोजरमार्फत पहिरो पन्छाउने कार्य जारी रहेको जनाइएको छ ।

उता, पाल्पाको कालीगण्डकी गाउँपालिका–१ हर्मिचौरस्थित कालीगण्डकी करिडोरमा सोमबार बिहान करिब ९:२५ बजे माथिबाट पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । सडक पुनः सञ्चालनमा ल्याउन सम्बन्धित निकाय परिचालित भई पहिरो हटाउने काम भइरहेको प्रहरीले जनाएको छ ।

लगातारको वर्षासँगै पहाडी जिल्लाका सडकहरूमा पहिरोको जोखिम बढ्दै गएको छ । प्रहरीले विशेषगरी राजमार्ग तथा ग्रामीण सडकमा यात्रा गर्ने सवारीचालकलाई आवश्यक सतर्कता अपनाउन तथा यात्रा गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिन आग्रह गरेको छ ।

यसैबीच, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलले सार्वजनिक गरेको पछिल्लो २४ घण्टाको विवरणअनुसार प्रदेशभर ८ वटा सवारी दुर्घटनामा १३ जना घाइते भएका छन् । ट्राफिक नियम उल्लङ्घन गर्ने २११ वटा सवारीसाधनमाथि कारबाही गरिएको छ भने २ लाख ७८ हजार रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ ।

त्यसैगरी, सडक सुरक्षा प्रवर्द्धनका लागि २३ वटा ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरिएको थियो । ती कार्यक्रममार्फत १ हजार ७० जना सर्वसाधारण तथा सवारीचालक प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् ।

प्रहरीले वर्षायाममा पहिरो, बाढी तथा अन्य प्राकृतिक विपद्का कारण सडक अवरुद्ध हुने जोखिम उच्च रहने भएकाले जोखिमयुक्त क्षेत्रमा अनावश्यक यात्रा नगर्न, यात्रा गर्नुअघि सडकको अवस्था बुझ्न तथा कुनै पनि आपत्कालीन अवस्था आएमा नजिकको प्रहरी कार्यालय वा आपत्कालीन सेवामा तत्काल जानकारी गराउन सर्वसाधारणसँग अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?