© 2026
बुटवल ।
नेपाली कांग्रेसले एमाले नेतृत्व लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारमा सहभागी आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउने तयारी गरेको छ । यसका लागि आज बिहीबार दिउँसो कांग्रेस संसदीय दलका नेता ,प्रमुख सचेतक , सचेतक र मन्त्रीहरुसहित बैठक बस्दै छन । बैठक पश्चात मन्त्रीहरूको राजीनामा र सरकारलाई दिएको समर्थन फिर्ता लिने प्रमुख सचेतक जमुना ढकालले बताईन ।
कांग्रेस–एमालेको गठबन्धनमा २०८१ साउन ७ गते एमालेका चेतनारायण आचार्य मुख्यमन्त्री नियुक्त भएका थिए । कांग्रेसले समर्थन फिर्ता लिएसँगै वर्तमान सरकार अल्पमतमा पर्नेछ । यद्यपि, एमालेले तत्काल सत्ता नछोड्ने संकेत गर्दै नेकपासँग नयाँ सत्ता साझेदारीको सम्भावना खोजि रहेको छ भने दल नेकपाका दल नेता र प्रमुख सचेतक सँग निरन्तर संवाद गरिरहेको छ ।
८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा हाल ८३ सदस्य बहाल छन्। सरकार गठनका लागि ४२ सदस्यको समर्थन आवश्यक पर्छ । एमाले र कांग्रेसका २९–२९ तथा नेकपाका १३ (एक सभामुखसहित) सदस्य रहेकाले नयाँ सरकार गठनमा नेकपा, लोसपा वा राप्रपा निर्णायक बन्न सक्ने अवस्था छ ।
कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले केन्द्रको निर्णयअनुसार मन्त्रीहरूलाई फिर्ता बोलाइने र सरकारलाई दिएको समर्थनबारे पनि आजकै बैठकले टुंगो लगाउने बताए ।
लुम्बिनी सरकारमा कांग्रेसका तर्फबाट आर्थिक मामिला मन्त्री धनेन्द्र कार्की, सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा ९रोज०, सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिना, उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपाने तथा वन तथा वातावरण मन्त्री देवकरणप्रसाद कलवार सहभागी छन् ।
नेकपाले भने केन्द्रको निर्णय नआएसम्म औपचारिक छलफल नगर्ने तर एमाले अल्पमतमा पर्ने भएपछि अनौपचारिक संवाद भैरहेको बताए । काङ्ग्रेसको तर्फबाट मुख्यमन्त्री सहित सरकारमा जाने तयारि हुदाँहुदै सरकारलाई दिएको समर्थन फिर्ता गर्ने तयारि गरिरहेको काङ्ग्रेसले नयाँ ढङ्गले समिकरण बनाउने तयारि गरेको छ ।