© 2026
नवलपरासी । जिल्ला स्थित पृथ्वीचन्द्र अस्पताललाई स्वर्गीय टिकादेवी पौड्यालको पवित्र स्मृतिमा अत्याधुनिक इडान कम्पनीको प्यारामिटर पेसेन्ट मनिटर प्रदान गरिएको छ ।
अस्पतालमा उपचाररत बिरामीहरूको स्वास्थ्य अवस्थाको प्रभावकारी निगरानी तथा गुणस्तरीय उपचार सेवा प्रवाहमा सहयोग पु¥याउने उद्देश्यले रामग्राम ३ का पति शिवलाल पौड्याल र उनका सुपुत्रहरू मुक्ति पौड्याल र डा. विष्णु पौड्यालले उक्त स्वास्थ्य उपकरण सौजन्य स्वरूप उपलब्ध गराएका हुन् ।
अस्पतालले आयोजना गरेको एक कार्यक्रम मार्फत उक्त उपकरण ग्रहण गर्दै अस्पताल प्रशासनले पौड्याल परिवार प्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको थियो । अस्पतालका अनुसार आधुनिक स्वास्थ्य सेवामा पेसेन्ट मनिटर अत्यन्तै महत्त्वपूर्ण उपकरण हो, जसले बिरामीको स्वास्थ्य अवस्थाबारे चिकित्सक तथा स्वास्थ्यकर्मीलाई वास्तविक समयमै आवश्यक जानकारी उपलब्ध गराउँछ ।
अस्पताल प्रशासनले जारी गरेको धन्यवाद तथा आभार सन्देशमा स्वर्गीय पौड्यालको स्मृतिलाई समाजसेवा र मानवीय सेवासँग जोडेर गरिएको यो सहयोग अत्यन्तै अनुकरणीय रहेको उल्लेख गरिएको छ । अस्पतालका अनुसार प्राप्त उपकरणले विशेषगरी आकस्मिक सेवा, गम्भीर अवस्थाका बिरामी तथा सघन उपचार आवश्यक पर्ने बिरामीहरूको उपचार व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।
प्यारामिटर पेसेन्ट मनिटरले बिरामीको मुटुको धड्कन, रक्तचाप, अक्सिजनको मात्रा, श्वास प्रश्वासको दर तथा शरीरका अन्य महत्त्वपूर्ण स्वास्थ्य सूचकहरूको निरन्तर निगरानी गर्न सहयोग पु¥याउँछ । यसले चिकित्सकलाई समयमै सही निर्णय लिन सहज बनाउने भएकाले उपचारको गुणस्तर थप प्रभावकारी हुने विश्वास गरिएको छ । अस्पतालले पछिल्लो समय आफ्नो सेवा विस्तार तथा स्वास्थ्य उपकरणको आधुनिकीकरणलाई प्राथमिकता दिँदै आएको अस्पतालका अध्यक्ष जगदिस चौधरीले बताए ।
उनका अनुसार यस्ता अत्याधुनिक उपकरणको उपलब्धताले जिल्लावासीलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न थप सहज हुने अस्पतालको विश्वास छ ।
“अस्पतालले यसअघि पनि विभिन्न सरकारी तथा गैरसरकारी निकाय, सामाजिक संस्था र समाजसेवी व्यक्तिहरूको सहयोगबाट स्वास्थ्य सेवा सुदृढीकरणका कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ”, उनले भने, “अस्पताल सबैका लागि हो,सधैका लागि हो, पौडेल परिवारको यो सहयोग र योगदानले अन्य व्यक्तिलाई पनि मानवीय तथा समाजिक कार्यमा प्रेरित गर्ने छ ।”
अस्पताल प्रशासनले समाजमा रहेका विभिन्न व्यक्ति, परिवार तथा संस्थाबाट प्राप्त हुने यस्ता सहयोगले सरकारी अस्पतालप्रति नागरिकको विश्वास अझ बलियो बनाउने विश्वास व्यक्त गरेको छ । अस्पतालका अनुसार सरकारी स्वास्थ्य संस्थामा आवश्यक उपकरण तथा पूर्वाधार थपिँदै जाँदा बिरामीले निजी अस्पताल धाउनुपर्ने बाध्यता पनि क्रमशः घट्दै जाने अपेक्षा गरिएको छ ।
स्वर्गीय पौड्यालको स्मृतिमा गरिएको यस सहयोगलाई अस्पतालले सामाजिक उत्तरदायित्व र मानवीय सेवाको उत्कृष्ट उदाहरणका रूपमा लिएको छ । आफ्नो प्रियजनको सम्झनालाई समाजका लागि उपयोगी कार्यमार्फत जीवित राख्ने संस्कारले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने अस्पताल प्रशासनको भनाइ छ ।
अस्पताल परिवारले जारी गरेको सन्देशमा स्वर्गीय पौड्यालप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उनका आत्माको चिरशान्तिको कामना गरिएको थियो । साथै, यस पुण्य कार्यका लागि शिवलाल पौड्याल, मुक्ति पौड्याल तथा डा. विष्णु पौड्यालसहित सम्पूर्ण पौड्याल परिवार प्रति उच्च सम्मानका साथ पुनः हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गरिएको थियो ।
स्वास्थ्य क्षेत्रका जानकारहरूका अनुसार सरकारी अस्पतालमा अत्याधुनिक उपकरणको उपलब्धताले बिरामीको उपचार प्रक्रियामा उल्लेखनीय सुधार ल्याउने मात्र होइन, चिकित्सक तथा स्वास्थ्यकर्मीलाई पनि सेवा प्रवाहमा थप सहजता प्रदान गर्दछ ।
विशेषगरी आकस्मिक अवस्था, शल्यक्रिया पछिको निगरानी तथा गम्भीर बिरामीको उपचारमा पेसेन्ट मनिटर अपरिहार्य उपकरणका रूपमा प्रयोग हुने गर्दछ । स्थानीयवासीले पनि पौड्याल परिवारको यस सहयोगको प्रशंसा गरेका छन् ।
समाजका लागि आवश्यक क्षेत्रमा गरिएको सहयोगले अन्य व्यक्ति तथा संस्थालाई समेत सामाजिक उत्तरदायित्व निर्वाह गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरिएको छ । शिक्षा, स्वास्थ्य तथा सामाजिक सेवाका क्षेत्रमा यस्ता सहयोगात्मक कार्यले समुदायमा सहयोग र सहकार्यको संस्कृतिलाई थप बलियो बनाउने उनीहरूको भनाइ छ ।
अस्पतालले आगामी दिनमा पनि नागरिक, समाजसेवी, दातृ निकाय तथा विभिन्न संघसंस्थासँग सहकार्य गर्दै स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि गर्ने प्रतिबद्धता जनाएको छ ।
अस्पतालका अनुसार प्राप्त प्रत्येक सहयोगलाई पारदर्शी र प्रभावकारी रूपमा उपयोग गरी सेवाग्राहीलाई अझ सहज, सुरक्षित र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराइनेछ । स्वर्गीय पौड्यालको स्मृतिमा गरिएको यो सहयोग केवल एउटा स्वास्थ्य उपकरण हस्तान्तरणमा सीमित नभई मानवीय सेवा, सामाजिक उत्तरदायित्व र परोपकारको प्रेरणादायी उदाहरणका रूपमा स्थापित भएको छ ।
यस्तो सहयोगले अस्पतालको सेवा क्षमता अभिवृद्धि हुनुका साथै उपचारका लागि आउने हजारौँ बिरामी प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ ।