© 2026
बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका–६, नेपालगञ्ज रोडस्थित एक पसलबाट नक्कली नेपाली नोट छाप्ने गिरोहमा संलग्न रहेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । उनीहरूको साथबाट ६ लाख २२ हजार रुपैयाँ बराबरका नक्कली नेपाली नोट तथा नोट छाप्न प्रयोग हुने विभिन्न उपकरण बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका–११ की ३६ वर्षीया गंगा कुमारी पूर्वछाने, कास्कीको पोखरा महानगरपालिका–१ का किरणकृष्ण तिवारी (कृष्ण), कपिलवस्तुको बाणगंगा नगरपालिका–१ का संजय थारु, भक्तपुरको चाँगुनारायण नगरपालिका–१ का ४१ वर्षीय रामचन्द्र खत्री, दोलखाको शैलुङ गाउँपालिका–४ का ३८ वर्षीय पासाङ तामाङ तथा भारतको पश्चिम बंगाल, सिलिगुडीस्थित भक्तिनगर थाना निवासी ४९ वर्षीय वासुमित्र आनन्द रहेका छन् ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तवले नक्कली पैसा छाप्ने कलर मेसिन र नगद सहित बुटवलको नेपालगन्ज रोडको एक पसलबाट बरामद गरेको बताए । प्रहरीका अनुसार घर तथा कोठा खानतलासीका क्रममा एक हजार रुपैयाँ दरका ६२२ थान नक्कली नेपाली नोट, जसको कुल मूल्य ६ लाख २२ हजार रुपैयाँ रहेको छ, बरामद गरिएको छ ।
साथै फोटोकपी मेसिन, डेल कम्पनीको ल्यापटप, प्रिन्टर, नक्कली नोट छाप्न प्रयोग हुने कागजको एक कार्टुन, लेमिनेसन मेसिन, विभिन्न रसायन, प्लास्टिक पेपर, नक्कली नोट काट्ने मेसिन तथा ६ थान मोबाइल पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले पक्राउ परेका सबैविरुद्ध मुद्रा सम्बन्धी कसुर अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ ।