Butwal Today

कतारमा मुखको क्यान्ससँग जुध्दै धरानका चौधरी, उपचार खर्चको लागी सहयोगको अपिल

३१ असार २०८३, बुधबार
अ+
अ-

दोहा (कतार) ।

रोजगारीका लागि चार वर्षअघि कतार पुगेका धरानका वसन्त चौधरी अहिले मुखको क्यान्सरसँग संघर्ष गरिरहेका छन् । गुट्खा तथा सुर्तीजन्य पदार्थको लामो समयसम्म सेवनका कारण मुखको क्यान्सर भएको पुष्टि भएपछि उनी विगत छ महिनादेखि कतारको सरकारी हमद अस्पतालमा उपचाररत छन् ।

चौधरीका अनुसार सुरुमा मुखभित्र सानो घाउ देखिएको थियो । त्यसपछि खानाको स्वाद हराउँदै गयो र मुख बाक्लिने समस्या बढ्दै गयो । सामान्य घाउ ठानेर बेवास्ता गर्दा रोग गम्भीर बनेको उनी बताउँछन् । हमद अस्पतालमा गरिएको परीक्षणपछि मुखको क्यान्सर भएको पुष्टि भएको हो ।

“सुरुमा सानो घाउ मात्रै हो भनेर बेवास्ता गरियो । अहिले त्यही घाउ ज्यानमारा रोग बन्यो,” उनले भावुक हुँदै भने ।

कतारको किटा फुड डेलिभरी कम्पनीमा बाइक राइडरका रूपमा कार्यरत चौधरी उपचारकै कारण पछिल्लो ६ महिनादेखि काममा फर्किन सकेका छैनन् । अहिले उनको अधिकांश समय अस्पताल र कोठाबीचको आवतजावतमै बित्ने गरेको छ ।

चिकित्सकहरूको निगरानीमा उनले हालसम्म तीन चरणको किमोथेरापी गरिसकेका छन् । किमोथेरापीबाट अपेक्षित सुधार नभए शल्यक्रिया गर्नुपर्ने चिकित्सकहरूले सुझाव दिएको उनले बताए ।

उपचारका लागि उनलाई हप्तामा दुई पटक अस्पताल पुग्नुपर्ने हुन्छ । फ्रिलान्सर भिसामा कार्यरत रहेकाले स्थायी रोजगारीको सुरक्षा नभएको र लामो समयदेखि बिरामी परेपछि आम्दानी पूर्ण रूपमा बन्द भएको उनको भनाइ छ ।

“६ महिनादेखि गोजीमा एक रुपैयाँ आम्दानी छैन । उपचार, कोठाभाडा र दैनिक गुजारासमेत धान्न मुस्किल भइरहेको छ,” उनले भने ।

मुखको क्यान्सरका कारण उनी सामान्य खाना खान नसक्ने अवस्थामा पुगेका छन् । हाल उनी झोलिलो खानेकुरामै निर्भर छन् । आर्थिक अभावका बीच समाजसेवी सागर नेपाल, कपिल भारती र मुना थापाले पटक–पटक आर्थिक, नैतिक तथा भौतिक सहयोग गरेको उल्लेख गर्दै उनले उनीहरूप्रति कृतज्ञता व्यक्त गरे ।

“मेरो दुःखमा साथ दिने कोही नभएको बेला उहाँहरूले साथ दिनुभयो । रोग निको भए यो गुन कहिल्यै बिर्सने छैन,” उनले भावुक हुँदै भने ।

उपचारका लागि महिनामा दुईदेखि तीन पटक अस्पताल पुग्नुपर्ने भए पनि कमजोर स्वास्थ्यका कारण सार्वजनिक यातायात प्रयोग गर्न नसक्ने अवस्था रहेको उनले बताए । ट्याक्सी प्रयोग गर्नु बाध्यता भए पनि त्यसको भाडासमेत जुटाउन कठिन भइरहेको उनको भनाइ छ ।

हाल नेपाल फर्किने अवस्था नरहेको र कतारमै उपचार पूरा गर्नुपर्ने बाध्यता रहेको चौधरीले बताए । आफू दुई सन्तानका पिता भएको स्मरण गराउँदै उनले कतारमा रहेका नेपाली समुदायसँग उपचार खर्च जुटाउन सहयोगको अपिल गरेका छन् ।

“म कसैको छोरो हुँ, कसैको श्रीमान् हुँ, दुई सन्तानको बाबु हुँ । म बाँच्न चाहन्छु,” भन्दै उनले आफ्नो जीवनरक्षाका लागि कतारवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई सक्दो सहयोग गरिदिन आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?