© 2026
बुटवल । लुम्बिनी प्रदेशमा चालु वर्षको धान रोपाइँले गति लिएको छ। प्रदेश कृषि विकास निर्देशनालयका अनुसार असार २६ गतेसम्म प्रदेशभर कुल धान खेतीयोग्य क्षेत्रफलको ५९.९४ प्रतिशतमा रोपाइँ सम्पन्न भएको छ। मनसुन सक्रिय बन्दै गएसँगै आगामी केही दिनमा रोपाइँको गति थप बढ्ने अपेक्षा गरिएको छ।
निर्देशनालयका अनुसार प्रदेशमा यस वर्ष ३ लाख १३ हजार ७२ हेक्टर क्षेत्रफलमा धान खेती गर्ने लक्ष्य रहेको छ। त्यसमध्ये हालसम्म १ लाख ८० हजार ६३० हेक्टरमा रोपाइँ सम्पन्न भएको छ भने अझै १ लाख ३२ हजार ४४२ हेक्टर क्षेत्रफलमा रोपाइँ गर्न बाँकी छ।
निर्देशनालयको तथ्यांकअनुसार जिल्लागत विवरणअनुसार रोल्पाले सबैभन्दा पहिले शतप्रतिशत धान रोपाइँ सम्पन्न गरेको छ। पहाडी जिल्लामा समयमै पर्याप्त वर्षा भएपछि किसानले रोपाइँ समयमै सकाएका हुन्।
रोल्पा – १०० प्रतिशत,प्युठानमा ९२ प्रतिशत ,नवलपरासी पश्चिम ९० प्रतिशत ,रुकुम पूर्वमा ८० प्रतिशत ,रुपन्देहीमा ७२ प्रतिशत ,पाल्पामा ७१ प्रतिशत ,बर्दियामा ७० प्रतिशत ,दाङमा ६५ प्रतिशत , गुल्मी ५२ प्रतिशत ,अर्घाखाँचीमा ५१ प्रतिशत तर तराईका केही जिल्लामा भने रोपाइँ अपेक्षाअनुसार अघि बढ्न सकेको छैन। विशेषगरी कपिलवस्तु र बाँकेमा रोपाइँको गति सुस्त देखिएको छ। कपिलवस्तुमा ६६ हजार २६५ हेक्टर धान खेतीयोग्य क्षेत्रफलमध्ये हालसम्म ३१ प्रतिशत क्षेत्रमा मात्रै रोपाइँ भएको छ। त्यसैगरी बाँकेमा ४४ प्रतिशत क्षेत्रमा मात्र रोपाइँ सम्पन्न भएको निर्देशनालयले जनाएको छ।
कृषि विज्ञहरूका अनुसार यस वर्ष कतिपय क्षेत्रमा समयमै पर्याप्त वर्षा नहुनु, सिँचाइ सुविधाको अभाव तथा रासायनिक मलको आपूर्तिमा समस्या आउनुले रोपाइँ प्रभावित भएको हो।विशेषगरी तराईका जिल्लामा किसानले धान रोप्न खेत तयारी गरे पनि पर्याप्त पानी नपर्दा रोपाइँ रोकिएको थियो। त्यससँगै युरिया र डीएपी मल समयमै उपलब्ध नभएको गुनासो किसानले गर्दै आएका छन्।
प्रदेश कृषि विकास निर्देशनालयले स्थानीय तह, कृषि ज्ञान केन्द्र तथा सम्बन्धित निकायसँग समन्वय गरी किसानलाई आवश्यक बीउ, मल तथा सिँचाइ सुविधा उपलब्ध गराउने प्रयास भइरहेको जनाएको छ। निर्देशनालयका अनुसार मनसुन अहिले सक्रिय भएकाले बाँकी क्षेत्रमा पनि रोपाइँले तीव्रता लिने अपेक्षा गरिएको छ। केही स्थानमा साउनको तेस्रो सातासम्म पनि धान रोप्न सकिने भएकाले प्रदेशको समग्र रोपाइँ प्रतिशत उल्लेखनीय रूपमा बढ्ने विश्वास गरिएको छ।
लुम्बिनी प्रदेश धान उत्पादनका हिसाबले देशका प्रमुख प्रदेशमध्ये एक भएकाले यहाँको रोपाइँको अवस्था प्रदेशको खाद्य सुरक्षा र राष्ट्रिय धान उत्पादनसँग समेत प्रत्यक्ष रूपमा जोडिएको मानिन्छ। कृषि क्षेत्रका सरोकारवालाले समयमै मल आपूर्ति, सिँचाइ व्यवस्थापन र प्राविधिक सहयोगलाई प्रभावकारी बनाउन सके बाँकी क्षेत्रमा पनि रोपाइँ सहज रूपमा सम्पन्न हुने विश्वास व्यक्त गरेका छन्।