© 2026
काठमान्डौँ ।
नेपाल मिडिया सोसाइटीले सञ्चारगृहको समाचार संकलन, प्रकाशन र प्रसारणमा अवरोध पुग्ने गरी गरिएका गतिविधिप्रति गम्भीर ध्यानाकर्षण गराएको छ । सोसाइटीले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा काठमान्डौँका विभिन्न सञ्चार संस्थाका कार्यालयको प्रवेशद्वार अगाडि निजी सवारीसाधन पार्किङ गरी आवतजावतमा अवरोध पुर्याउने तथा सञ्चारकर्मीलाई असहज बनाउने कार्य भएको उल्लेख गरिएको छ ।
विज्ञप्तिका अनुसार बिहान करिब ७ बजेदेखि काठमान्डौँको तिनकुनेस्थित कान्तिपुर दैनिक तथा कान्तिपुर टेलिभिजन, नयाँ बानेश्वरस्थित अनलाइन खबर र मध्यबानेश्वरस्थित हिमालय टेलिभिजनको कार्यालय अगाडि सवारीसाधन पार्किङ गरी प्रवेशमा अवरोध सिर्जना गरिएको जनाएको छ ।
नेपाल मिडिया सोसाइटीले यस्ता गतिविधिले स्वतन्त्र प्रेसमाथि दबाब सिर्जना गर्ने तथा सञ्चारकर्मीलाई त्रसित बनाउने प्रयास भएको उल्लेख गर्दै सम्बन्धित निकायसँग घटनाको निष्पक्ष अनुसन्धान गरी दोषिमाथि कानुनी कारबाही गर्न माग गरेको छ ।
साथै, भविष्यमा सञ्चारगृहलाई लक्षित गरी यस्ता गतिविधि दोहोरिन नदिन सम्बन्धित पक्षलाई सचेत गराउदैँ प्रेस स्वतन्त्रताको सम्मान गर्न सोसाइटीले आग्रह गरेको छ ।
