Butwal Today

मोदी खोलाले सडक बगाउँदा घान्द्रुकमा पर्यटक अलपत्र

२९ असार २०८३, सोमबार
अ+
अ-

कास्की । मोदी खोलामा आइतबार आएको बाढीले पक्की सडक बगाउँदा पर्यटकीय गाउँ घान्द्रुक घुम्न गएका करिब ३०० जना पर्यटक अलपत्र परेका छन् ।

कास्कीको अन्नपूर्ण गाउँपालिका–८ र १० को सीमा क्षेत्र स्याउली बजार नजिक मोदी खोलाले सडक बगाएपछि नयाँपुल–विरेठाँटी–घान्द्रुक सडकखण्डमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ ।

अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोला थुनिएपछि आएको बाढीका कारण मोदी खोलाको बहाव बढ्दा सडक बगेको हो । यससँगै ग्रामीण पर्यटकीय केन्द्र घान्द्रुकसँगको सडक सम्पर्क टुटेको छ ।

सडक अवरुद्ध भएपछि घान्द्रुक घुम्न गएका पर्यटक त्यहीँ रोकिएका छन् । पैदल यात्रामा भने समस्या नभए पनि सवारीसाधन लिएर गएका पर्यटक फर्किन नसकेका हुन् ।

घान्द्रुक पर्यटन व्यवसायी समितिका कोषाध्यक्ष कृष्ण गुरुङका अनुसार तीन दिनको बिदा मनाउन घान्द्रुक पुगेका करिब ३०० जना पर्यटक सडक बगेपछि त्यहीँ रोकिन बाध्य भएका छन् ।

“खोलाले सडक बगाएकाले अहिले गाडी सञ्चालन हुन सकेको छैन । अधिकांश पर्यटक आफ्नै सवारीसाधन लिएर आएकाले बाटो खुल्ने प्रतीक्षामा बसिरहेका छन् । साना सवारीसाधनका लागि वैकल्पिक सडकको खोजी गरिरहेका छौँ,” उनले भने ।

गाउँपालिकाका अनुसार मोटरसाइकल र स्कुटरमा गएका पर्यटकलाई घान्द्रुक–खुलिबाङ–मोहरिया–तमु हुँदै विरेठाँटी पुग्ने कच्ची सडकबाट आवतजावत गराउने तयारी गरिएको छ । त्यसका लागि उक्त सडकको मर्मत कार्य भइरहेको छ ।

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले घान्द्रुक घुम्न गएका तथा अन्नपूर्ण आधार शिविर (एबिसी) पदयात्रामा रहेका पर्यटक समस्यामा परेपछि स्थानीय प्रशासन र प्राविधिक टोली स्याउली बजार पुगेको जानकारी दिए ।

“समस्यामा परेका पर्यटकलाई वैकल्पिक सडक मर्मत गरेर आवतजावत गराउने विषयमा छलफल भइरहेको छ । अहिले वर्षा कम भएको र नदीको बहाव पनि घटेकाले सडक बगेको स्थानमा एकतर्फी भए पनि यातायात सञ्चालन गर्न सकिन्छ कि भनेर प्रशासनसँग समन्वय गरिरहेका छौँ,” अध्यक्ष केसीले भने ।

अन्नपूर्ण गाउँपालिका–११ मा रहेको घान्द्रुक गाउँ अन्नपूर्ण आधार शिविर (एबिसी) तथा घोरेपानी–पुनहिल पदयात्राको प्रमुख प्रवेशद्वारका रूपमा परिचित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?