© 2026
चन्द्रौटा । कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ८ मा किर्ते कागजात तयारी गरी जग्गा हडप्ने रहस्य खुलेको छ ।
स्रेस्ता कायम भए पनि लालपुर्जा जारी नभएको करिब ६ बिगाहा खेतीयोग्य जग्गा हडप्न किर्ते कागजात तयार गरी वडा कार्यालयबाट सिफारिस गरेपछि रहस्य बाहिरिएको हो ।
नक्कली हकवाला खडा गरी वडा कार्यालयबाट किर्ते सिफारिस गरिएको स्थानीयले आरोप लगाएका छन् । पटपरमा रहेको करिब ६ बिगाहा खेतीयोग्य जमिन यतिबेला केवल जग्गा विवादको विषय मात्र बनेको छैन । यसले वर्षौँदेखि लालपुर्जा नपाएका र कानुनी रूपमा अधुरै रहेका जमिनमाथि हुने चलखेलको वास्तविकता पनि उजागर समेत गरेको छ ।
साबिक महदेइया गाविसको पटपरस्थित अभिलाख दुवेको नाममा स्रेस्ता कायम भए पनि लालपुर्जा जारी नभएको ५ बिगाहा ९ कट्ठा ९ धुर जग्गा लामो समयदेखि स्थानीय कृषकले जोतभोग गर्दै आएका छन् । तर जग्गाको स्वामित्व कानुनी रूपमा स्पष्ट नहुँदा अहिले त्यसैको फाइदा उठाएर नक्कली हकवाला खडा गरी स्वामित्व दाबी गर्ने प्रयास भएको स्थानीयको आरोप छ ।
गत जेठ १३ गते वडा कार्यालयबाट चलानी नम्बर १४४७ मा जारी गरिएको सिफारिस पत्रमा मृतक अभिलाख दुवेका सबैभन्दा नजिकका एक मात्र हकवाला गौरमती पाण्डे रहेको उल्लेख गरिएको छ । उक्त पत्रमा अभिलाख दुवेको २०३३ सालमा मृत्यु भएको तथा हकवालासम्बन्धी पटक–पटक सूचना जारी गर्दा पनि कसैले दाबी नगरेकाले गौरमती पाण्डेलाई हकवाला सिफारिस गरिएको उल्लेख छ ।
उक्त सिफारिसमा कार्यवाहक वडाध्यक्षको जिम्मेवारीमा रहेका वडा सदस्य बिनु बिकको हस्ताक्षर रहेको छ । तर वडा सदस्य बिकले भने आफूले सिफारिस गरिएको व्यक्तिलाई नचिनेको र बिरामी भएर घरमा आराम गरिरहेको बेला झुक्काएर हस्ताक्षर गराइएको दाबी गरेकी छन् ।
वडा सचिव छठ्ठीराम यादवका अनुसार उक्त सिफारिस वडा कार्यालयमा तयार गरिएको नभई बाहिरबाट ल्याइएको कागजातमा झुक्काएर हस्ताक्षर गराइएको देखिएको छ । आफू कार्यालयमा अनुपस्थित रहेका बेला अन्य कर्मचारीले वास्तविकता नबुझी चलानी गरिदिएको उनको भनाइ छ ।
तर घटनाले नयाँ मोड तब लियो जब सिफारिसमा हस्ताक्षर गरेका कार्यवाहक वडाध्यक्षले आफूलाई सिफारिस गरिएको व्यक्तिबारे जानकारी नभएको र बिरामी अवस्थामा झुक्याएर हस्ताक्षर गराइएको दाबी गरिन् । वडा सचिवले समेत कागजात वडा कार्यालयमै तयार नभई बाहिरबाट ल्याइएको हुनसक्ने संकेत गरेपछि प्रश्नहरू झन् गम्भीर बनेका छन् ।
स्थानीय सुशिल कुमार शुक्लका अनुसार अभिलाख दुवे स्थानीय जमिनदार थिए र उनी अविवाहित थिए । उनको मृत्युपछि जग्गा जोतभोग गर्दै आएका कृषक काशीराम शुक्लले २०५१ सालमा जग्गाको खिचोला मिलाइपाऊँ भन्दै अदालतमा मुद्दा दायर गरेका थिए ।
अदालतले अभिलाख दुवे अविवाहित रहेको ठहर गर्दै उनका भाइ जगन्नाथ दुवेका तीन छोरा पारसनाथ, राजेन्द्रनाथ तथा एक बुहारीलाई हकवाला कायम गरी मिलापत्र गराएको थियो ।
ती चारै जना भारतको गोण्डा जिल्लामा बसोबास गर्ने भारतीय नागरिक रहेको शुक्ल बताउँछन् । तर अदालतको अभिलेख र स्थानीयको दाबीभन्दा फरक विवरण केही सरकारी कागजातमा भेटिएका छन् । वडा कार्यालयबाट जारी मृत्यु दर्ता प्रमाणपत्रमा भने अभिलाख दुवे विवाहित रहेको र उनकी पत्नी रम्भावती दुवे रहेको उल्लेख छ । यही फरक तथ्यले सरकारी अभिलेखको विश्वसनीयता र स्थानीय तहमा हुने सिफारिस प्रक्रियामाथि गम्भीर प्रश्न खडा गरेको छ ।
अदालतको फैसलामा अभिलाख दुवे अविवाहित रहेको र २०२९ सालमै मृत्यु भएको उल्लेख छ । तर शिवराज नगरपालिका–८ का वडाध्यक्ष रिजवान अहमदले २०८२ मंसिर ५ गते जारी गरेको मृत्यु प्रमाणपत्रमा अभिलाख दुवेकी पत्नी रम्भावती दुवे रहेको तथा उनको २०३३ सालअघि नै मृत्यु भएको उल्लेख गरिएको कागजात फेला परेको छ ।
वडा नं. ११ निवासी गौरमती पाण्डेको निवेदनका आधारमा आवश्यक सर्जमिन प्रक्रिया नगरी सोझै मृत्यु प्रमाणपत्र जारी गरिएको खुलेको छ । स्थानीयका अनुसार पटक–पटक विवादमा परेको जग्गामा सर्जमिन नगरी निवेदनकै आधारमा सिफारिस र प्रमाणपत्र जारी गरिनुले वडा कार्यालयको भूमिकामाथि गम्भीर आशङ्का उत्पन्न गरेको छ ।
यता वडाध्यक्ष रिजवान अहमदले भने सिफारिस गरिएको व्यक्तिलाई आफूले नचिनेको र वडा कार्यालयबाट झुक्किएर सिफारिस भएको दाबी गरे । घटनासँग सम्बन्धित सिफारिस तथा अन्य कागजात बदर गराउने उद्देश्यले अदालतमा पत्राचार गर्ने तयारी भइरहेको उनले बताए ।
यस घटनाले लालपुर्जा जारी नभएका जग्गाको अभिलेख व्यवस्थापन, हकवाला प्रमाणीकरण प्रक्रिया तथा वडा कार्यालयबाट जारी हुने सिफारिसको विश्वसनीयतामाथि प्रश्न उठेको छ । लालपुर्जा नभएका जमिनमाथिको विवाद र चलखेलको विषय अझै बढ्ने स्थानीयमा चिन्ता र चासो बनेको छ ।
