© 2026
काठमाडौं । सुकुम्बासी व्यवस्थापनलाई लिएर सरकारको आलोचना चुलिएपछि मन्त्रीहरूको टोली आइतबार भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टर पुगेको छ। तर भ्रमणका क्रममा सञ्चारकर्मीलाई होल्डिङ सेन्टरभित्र प्रवेश गर्न नदिइएपछि सरकारको पारदर्शितामाथि प्रश्न उठेको छ।
गृहमन्त्री सुधन गुरुङ, भूमि व्यवस्था, सहकारी तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल, शिक्षामन्त्री सस्मित पोखरेल तथा सामाजिक सुरक्षा मन्त्री सीता वादीलगायतका मन्त्रीहरूले होल्डिङ सेन्टर पुगेर सुकुम्बासी परिवारसँग भेटघाट गरेका थिए। भेटका क्रममा मन्त्री प्रतिभा रावलले भूमिहीन सुकुम्बासीलाई कानुनी रूपमा सुरक्षित र भविष्यमा विवाद नउठ्ने गरी लालपुर्जा उपलब्ध गराउने प्रक्रिया अघि बढिरहेको बताइन्। प्रक्रिया पूरा गर्न केही समय लाग्ने भएकाले तत्काल मिति तोक्न नसकिने भए पनि सरकारले लालपुर्जा वितरणमा प्रतिबद्ध रहेको उनको भनाइ थियो।
तर सुकुम्बासीहरूले भने आफूहरूलाई अहिले लालपुर्जाभन्दा दैनिक जीवन सञ्चालनका लागि आवश्यक आधारभूत सामग्रीको खाँचो रहेको बताएका छन्। केही दिनअघि आएको बाढीले कपडा, चप्पल र अन्य आवश्यक सामग्री बगाएपछि कठिन अवस्थामा बाँच्नुपरेको भन्दै उनीहरूले तत्काल राहतको माग गरेका थिए। सामाजिक सुरक्षा मन्त्री सीता वादीले कपडा, चप्पललगायत आवश्यक सामग्री उपलब्ध गराउने प्रयास गरिने आश्वासन दिएकी थिइन्।
कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा बाढी पसेपछि सरकारको व्यापक आलोचना भएको थियो। त्यसपछि त्यहाँ रहेका सुकुम्बासी परिवारलाई खरिपाटी सारिएको हो। यद्यपि केही परिवारले उचित वैकल्पिक व्यवस्थापन नभएसम्म होल्डिङ सेन्टर नछाड्ने अडान कायम राखेका छन्।
यसैबीच, होल्डिङ सेन्टरको अवस्था र मन्त्रीहरूको भेटघाटको समाचार संकलन गर्न पुगेका सञ्चारकर्मीलाई सुरक्षाकर्मीले गेटमै रोकेका थिए। ‘माथिको अनुमति’ बिना प्रवेश गर्न नपाइने भन्दै पत्रकारलाई भित्र जान नदिइएको थियो। पत्रकारलाई प्रवेश निषेध गरिएको घटनाले होल्डिङ सेन्टरभित्रको वास्तविक अवस्था सार्वजनिक हुनबाट किन रोकियो भन्ने प्रश्नसमेत उठाएको छ