© 2026
गुल्मी । लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रत्न खत्रीले प्रदेश सरकार जनताको सबैभन्दा नजिकको सरकार भएकाले यसको कामकारबाहीमाथि नागरिक तहबाट निरन्तर खबरदारी हुनुपर्ने बताएका छन्।
पूर्वधार विकासको निरिक्षणमा गुल्मी पुगेका मन्त्री खत्रीले पत्रकारहरूसँगको भेटघाटमा प्रदेश सरकारले साना तथा टुक्रे योजनाभन्दा आवश्यकता र प्राथमिकताका आधारमा ठूला तथा प्रभावकारी योजनालाई प्राथमिकता दिएको बताए।
उनका अनुसार प्रदेश सडक गुरुयोजनामा समावेश ५९७ आयोजनामध्ये प्राथमिकताका आधारमा करिब २५० आयोजनाका लागि ३ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको छ। ३० लाख रुपैयाँभन्दा कम लागतका नयाँ योजना नराख्ने नीति लिइएको पनि उनले बताए। मन्त्री खत्रीले अघिल्लो आर्थिक वर्षको तुलनामा चालु वर्ष बजेटको आकार सानो भए र दायित्व भने बढेको बताए। विगतमा सांसदहरूले सिफारिस गरेका धेरै टुक्रे आयोजना समेटिँदा प्रभावकारी कार्यान्वयनमा चुनौती देखिएको उनको भनाइ थियो।
उनले आयोजना कार्यान्वयन र अनुगमनलाई प्रभावकारी बनाउन मन्त्रालयबाट अनुगमन समिति गठन गरी नियमित रूपमा काम गरिने जानकारी दिए। जनशक्तिको अभावका कारण केही समस्या भए पनि साउन महिनामा लोकसेवा आयोगमार्फत आवश्यक कर्मचारी उपलब्ध भएपछि कार्यसम्पादन सहज हुने विश्वास व्यक्त गरे। प्रदेश सरकारमाथि उठेका विभिन्न प्रश्न र आलोचनालाई सम्बोधन गर्ने प्रयास भइरहेको बताउँदै उनले कतिपय जिल्लामा बजेट वितरण असन्तुलित देखिए पनि भदौ महिनादेखि बहुवर्षीय आयोजना कार्यान्वयनमा ल्याएर सन्तुलन मिलाइने बताए।
मन्त्री खत्रीले आगामी बर्षमा लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा आवश्यकता र प्राथमिकताका आधारमा योजना छनोट गरी समानुपातिक रूपमा बजेट सन्तुलन मिलाउने बताए । उनले भौतिक पूर्वाधार मन्त्रालयको कुल बजेटमध्ये करिब ११ प्रतिशत बजेट गुल्मी जिल्लाका योजनामा विनियोजन गरिएको समेता जानकारी दिए।
संघीयतामाथि उठ्ने प्रश्नप्रति टिप्पणी गर्दै मन्त्री खत्रीले ५२ वटै निर्वाचन क्षेत्रलाई समान दृष्टिले हेर्ने राजनीतिक नेतृत्वको सोच आवश्यक रहेको बताए। यस विषयमा प्रदेश सरकार चुकेको छैन सन्तुलित विकासका लागि निरन्तर काम गरिरहेको उनको भनाइ थियो।