© 2026
सिरहा । सिरहाको गोलबजार नगरपालिका–७ मा पोखरीमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ । आइतबार दिउँसो गोलबजार–७ स्थित पशु बजार नजिक रहेको पानी जमेको पोखरीमा नुहाउने क्रममा उनीहरूको मृत्यु भएको हो ।
मृत्यु हुनेमा स्थानीय अब्बास खानका ८ वर्षीय छोरा सैफुल शेख, १० वर्षीया छोरी रुविना खातुन र १२ वर्षीया छोरी सवनम खातुन रहेका छन् । घटनाको जानकारी वडा नं. ७ का वडाध्यक्ष हरिशरण ठाकुरले दिएका हुन् ।
वर्षाका कारण पशु बजार क्षेत्रमा रहेको खाल्डोमा पानी जमेर पोखरी बनेको थियो । सोही पोखरीमा नुहाउन गएका बालबालिका डुबेका हुन् । घटनाको जानकारी प्राप्त हुनासाथ नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली घटनास्थल पुगेर उद्धार तथा खोजी कार्यमा खटिएको थियो ।
स्थानीयले पाँच जना डुबेको आशङ्का गरेका भए पनि त्यसको आधिकारिक पुष्टि हुन बाँकी रहेको प्रहरीले जनाएको छ । सुरक्षाकर्मीले घटनास्थलमा खोजी कार्यलाई निरन्तरता दिएका छन् ।