Butwal Today

विश्वकप खेलेको केही सातामै दक्षिण अफ्रिकी फुटबलर जेडन एडम्सको निधन

२८ असार २०८३, आइतबार
अ+
अ-

काठमाडौँ । दक्षिण अफ्रिका र मामेलोडी सनडाउन्सका मिडफिल्डर जेडन एडम्सको २५ वर्षको उमेरमा निधन भएको छ । देशका लागि विश्वकप खेलेको केही सातामै उनको निधन भएको हो ।

दक्षिण अफ्रिकी प्रहरीले शनिबार बिहान केपटाउनको सेन्ट्रल क्षेत्रमा पर्ने सटसेक्लुफस्थित एक घरमा एडम्सको शव फेला पारेको जनाएको छ । घटनाको कारण खुलिनसकेको भन्दै प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

एडम्सले हालै सम्पन्न विश्वकपमा दक्षिण अफ्रिकाका लागि समूह चरणका तीनवटै खेल खेलेका थिए । उनको टोली नकआउट चरणसम्म पुगे पनि राउन्ड अफ ३२ मा क्यानडासँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो ।

दक्षिण अफ्रिकाका खेल, कला तथा संस्कृति मन्त्री ग्याटन म्याकेन्जीले विज्ञप्तिमार्फत एडम्सको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । उनले दक्षिण अफ्रिकी फुटबलले आफ्नो सबैभन्दा प्रतिभाशाली युवा खेलाडीमध्ये एकलाई गुमाएको बताएका छन् ।

म्याकेन्जीले एडम्सको परिवार, टोलीका साथीहरू र समर्थकहरूप्रति समवेदना व्यक्त गर्दै मृत्युको कारण अहिलेसम्म खुलिनसकेको जानकारी दिएका छन् । साथै, सञ्चारमाध्यम र सर्वसाधारणलाई अपुष्ट हल्लाको पछि नलाग्न तथा परिवार र मामेलोडी सनडाउन्स क्लबलाई आवश्यक गोपनीयता दिन आग्रह गरेका छन् ।

दक्षिण अफ्रिकी फुटबल प्लेयर्स युनियनले पनि एडम्सको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ । एडम्सले सन् २०२२ मा दक्षिण अफ्रिकाका लागि अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका थिए ।

युनियनले विज्ञप्तिमा एडम्सले हालै २०२६ विश्वकपमा दक्षिण अफ्रिकाको प्रतिनिधित्व गरेको उल्लेख गर्दै उनको निधन परिवार, टोलीका साथीहरू, क्लब, फुटबल समुदाय तथा सम्पूर्ण देशका लागि अपूरणीय क्षति भएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?