Butwal Today

सद्भाव युवा समाज कतारको १८ औँ वार्षिक साधारण सभा सम्पन्न

२८ असार २०८३, आइतबार
अ+
अ-

दोहा (कतार) ।

कतार एयरवेजका विभिन्न शाखामा कार्यरत नेपाली युवाहरूद्वारा स्थापित सामाजिक संस्था सद्भाव युवा समाज कतारले १८औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सामाजिक सद्भाव, मानव सेवा तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा सक्रिय संस्थाले दोहास्थित पाराडाइज रेष्टुरेन्टको सभाहलमा विशेष कार्यक्रम आयोजना गर्दै साधारण सभा सम्पन्न गरेको हो ।

कार्यक्रममा महासचिव चित्र गुरुङले प्रस्तुत गरेको वार्षिक प्रतिवेदनअनुसार संस्थाले गत वर्ष शिक्षा, स्वास्थ्य, विपद् राहत तथा मानवीय सेवाका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गरेको जनाएको छ । इलामका बाढी–पहिरो प्रभावितलाई तीन हजार कतारी रियाल राहत, विभिन्न बिरामीलाई उपचार सहयोग तथा स्याङ्जा र कञ्चनपुरका विद्यालयमा शैक्षिक एवं खेलकुद सामग्री वितरण गरिएको जानकारी दिए । आर्थिक प्रतिवेदनअनुसार संस्थाको कुल आम्दानी ६७ हजार ५६१ कतारी रियाल, खर्च ५६ हजार ६१८ कतारी रियाल र मौज्दात १० हजार ९४३ कतारी रियाल रहेको छ ।

गैरआवासीय नेपाली संघ ९एनआरएनए० राष्ट्रिय समन्वय परिषद् कतारका अध्यक्ष कृष्ण पन्थीले संस्थाले निःस्वार्थ समाजसेवा, पारदर्शिता, अनुशासन र मानवीय सेवाका क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै सामाजिक अभियन्ताहरूलाई सहकार्य र एकताका साथ समाजसेवामा लाग्न आग्रह गरे । उनले संस्थाले सञ्चालन गर्दै आएको मानवीय अभियान आगामी दिनमा अझ प्रभावकारी बन्दै जाओस् भन्ने शुभकामना व्यक्त गर्दै संस्थाका हरेक सामाजिक कार्यमा निरन्तर साथ, सहयोग र ऐक्यबद्धता रहने प्रतिबद्धता जनाएका छन् ।

सद्भाव युवा समाज कतारका अध्यक्ष विजय गुरुङले संस्थाका सदस्यहरूको गृह जिल्लास्थित विद्यालयमा क्रमशः एक लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने दीर्घकालीन योजना अघि बढाइने घोषणा गरे । उनले संस्थालाई प्रविधिमैत्री बनाउने उद्देश्यले डिजिटल सदस्यता कार्ड सुरु गरिने जानकारी दिँदै आगामी नेतृत्वसँग सहकार्य गर्दै सामाजिक अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा संस्थापक सदस्य पूर्णबहादुर मगरले संस्थाको स्थापना, उद्देश्य, विगतको यात्रा तथा हालसम्म सञ्चालन गरिएका सामाजिक गतिविधिबारे जानकारी गराउँदै संस्थाको विकासमा योगदान पुर्‍याउने अग्रज तथा सदस्यहरूको भूमिकाको चर्चा गरेका थिए ।

कार्यक्रममा मुखको क्यान्सरबाट पीडित वसन्त चौधरीलाई एक हजार आठ कतारी रियाल आर्थिक सहयोग हस्तान्तरण गरिएको थियो । त्यस्तै कलाकार, अतिथि तथा संस्थाका गतिविधिलाई प्रचार–प्रसारमा सहयोग गर्ने पत्रकारहरूलाई पनि सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?