Butwal Today

रोल्पा आठौँ पटक ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला’ घोषणा

२७ असार २०८३, शनिबार
अ+
अ-

रोल्पा । रोल्पा जिल्ला आठौँ पटक ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला’ घोषणा भएको छ। १५ महिनादेखि ५९ महिनासम्मका सबै योग्य बालबालिकाले नियमित खोप पाएपछि शनिबार जिल्लालाई औपचारिक रूपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो।

स्वास्थ्य कार्यालय रोल्पाका अनुसार जिल्लाका ७२ वटै वडा र १० वटै स्थानीय तहमा सञ्चालन गरिएको ‘खोज र खोप अभियान’ मार्फत खोपबाट छुटेका पाँच वर्षमुनिका बालबालिकाको पहिचान गरी सबैलाई खोपको पहुँचमा ल्याइएको हो।

स्वास्थ्य कार्यालय रोल्पाका प्रमुख माधव राउतका अनुसार जिल्लाभर करिब १३ हजार ५७७ जना पाँच वर्षमुनिका बालबालिकाले पूर्ण खोप प्राप्त गरेका छन्।घोषणा कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री रामजीप्रसाद घिमिरेले बालबालिकालाई भविष्यमा लाग्न सक्ने विभिन्न रोगबाट जोगाउन नियमित खोप अत्यन्त प्रभावकारी रहेको बताए। उनले खोप अभियान राज्यको उच्च प्राथमिकतामा रहेको र यो विश्वव्यापी सार्वजनिक स्वास्थ्य प्रयासको महत्वपूर्ण हिस्सा भएको उल्लेख गरे।

रोल्पा २०७५ सालमा पहिलो पटक पूर्ण खोपयुक्त जिल्ला घोषणा भएको थियो। नेपाल सरकारको वार्षिक मूल्याङ्कन प्रणालीअनुसार आवश्यक मापदण्ड पूरा गरेपछि यस वर्ष जिल्लाले आठौँ पटक ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला’ को मान्यता प्राप्त गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?