© 2026
काठमाडौं । नेकपाका सांसद वर्षमान पुनले मुगुका गणेश नेपालीको आत्मदाह प्रकरणलाई लिएर सरकारसँग जवाफ माग गरेका छन्। प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै उनले गरिब, दुःखी र सुकुमवासीहरूलाई राजधानी काठमाडौंमा बाँच्न र जीविकोपार्जन गर्न कठिन अवस्था सिर्जना भएको हो भन्ने प्रश्न उठाए।
सांसद पुनले गणेश नेपालीको घटनाप्रति दुःख व्यक्त गर्दै यसबारे प्रधानमन्त्रीसँग स्पष्ट धारणा सार्वजनिक गर्न आग्रह गरे। उनले यो घटना राज्यको असफलताको संकेत हो कि गरिब तथा सुकुमवासीलाई राजधानीमा बाँच्न नदिने परिस्थितिको परिणाम हो भन्ने प्रश्न सरकारसमक्ष राखे।
संसद्मा बोल्दै उनले इलामका प्रेम आचार्यले २०७९ माघ १० गते संसद् भवनअगाडि आत्मदाह गरेपछि तत्कालीन काठमाडौं महानगरपालिकाका मेयर रहेका हालका प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत व्यक्त गरेको धारणा पनि स्मरण गराए। पुनका अनुसार त्यतिबेला शाहले नागरिकको आत्मदाहको सबैभन्दा ठूलो कारण राज्य र त्यसको चरम असफलता भएको उल्लेख गरेका थिए।
सोही प्रसंग उल्लेख गर्दै पुनले गणेश नेपालीको घटनामा पनि प्रधानमन्त्रीको धारणा उस्तै रहेको वा परिवर्तन भएको हो भन्नेबारे संसद्मार्फत स्पष्ट जवाफ दिन माग गरे।गणेश नेपालीको आत्मदाह घटनापछि सरकारको भूमिकालाई लिएर संसद् र सार्वजनिक वृत्तमा बहस जारी रहेको छ।