Butwal Today

चीन र दक्षिण एसियाका विज्ञ ज्ञान उत्पादनबारे छलफल गर्दै

२६ असार २०८३, शुक्रबार
अ+
अ-

कीर्तिपुर (काठमाडौँ) । चीन र दक्षिण एसियामा ज्ञान उत्पादन र त्यसको अन्तरराष्ट्रिय सम्बन्धमा प्रभावबारे विज्ञहरूबीच आज छलफल भएको छ ।

त्रिभुवन विश्वविद्यालयको अन्तरराष्ट्रिय सम्बन्ध तथा कूटनीति विभागमा आयोजित कार्यक्रममा विकासको दीर्घकालीन आधार ज्ञान, अनुसन्धान र खोज रहेको निष्कर्ष निकालिएको थियो ।

काठमाडौँ इन्स्टिच्युट अफ रिसर्च एन्ड कन्सल्टेन्सी (केआईआरसी) को आयोजनामा तथा त्रिभुवन विश्वविद्यालयको अन्तरराष्ट्रिय सम्बन्ध तथा कूटनीति केन्द्रीय विभागको सहकार्यमा ‘रिजनल डाइलग अन नलेज प्रडक्सन अन साउथ एसिया इन चाइना’ शीर्षकमा कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा दिल्ली विश्वविद्यालयको इस्ट एसिया स्टडीज विभागका प्राध्यापक डा. राजीव रञ्जन र चीनको सिच्वान विश्वविद्यालयका अनुसन्धानकर्ता प्रशान्तकुमार विकले दक्षिण एसिया र चीनको भू–राजनीतिबारे विचार राखेका थिए ।

प्राध्यापक रञ्जनले ज्ञानको विविधताले समाज, राष्ट्र र अन्तरराष्ट्रिय सम्बन्धलाई सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले प्राचीनकालदेखि चीनमा ज्ञान उत्पादनको परम्परा रहेको उल्लेख गर्दै ज्ञानमा आधारित विमर्शले नीतिगत सुधारलाई प्रभावकारी बनाएको धारणा राखे ।

त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. खड्ग केसीले भारत र चीनले ज्ञान उत्पादनमा रणनीतिक रूपमा लगानी गर्दै आएको बताए ।

विभाग प्रमुख अपेक्षा शाहले युवा पुस्तामा बौद्धिक बहस र विचार–विमर्शको संस्कृतिको विकास गर्न विभागले नियमित कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिइन् ।

केआईआरसीका सह–संस्थापक चन्दन तामाङले बौद्धिक संस्कृतिको विकास वर्तमान समयको आवश्यकता भएको बताए । संस्थाका अपरेसन डाइरेक्टर याईशाष याशिर खम्बुले अन्तरराष्ट्रिय सम्बन्ध अध्ययन गर्ने विद्यार्थीमा बौद्धिक संवादमार्फत विषयगत दृष्टिकोण विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।

अन्तरराष्ट्रिय सम्बन्ध विषयकी अध्यापक सुमि शर्माले निरन्तर वैचारिक अन्तरक्रियाले ज्ञानको दायरा फराकिलो बनाउनुका साथै विषयवस्तु बुझ्न सहज हुने धारणा व्यक्त गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?