© 2026
काठमान्डौँ ।
प्रमुख विपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले राइड–सेयरिङ चालक गणेश नेपालीको आत्मदाह घटनाको निष्पक्ष र गम्भीर छानबिन गर्न सरकारसँग माग गरेका छन् ।
घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै उनले राज्यका निकायबाट हुने दुर्व्यवहार र प्रताडनकै कारण यस्तो दुःखद अवस्था सिर्जना भएको हुन सक्ने भन्दै आक्रोश व्यक्त गरे ।
पत्रकारहरूसँग कुरा गर्दै आङ्देम्बेले भने, “महानगर प्रहरीले गरेको प्रताडनाका कारण गणेश नेपाली पीडामा थिए र त्यसकै कारण उनी डिप्रेसनमा पुगेको भन्ने कुरा परिवारबाट आएको छ । घटनाबारे अनुसन्धान भइरहेको होला र सत्यतथ्य पनि बाहिर आउला । तर, आफूलाई शक्तिशाली देखाउने नाममा राज्य वा राज्यका कुनै पनि निकायले काम गरेर खाने मजदुर वर्गमाथि दुर्व्यवहार गर्ने गतिविधि गरिरहेका छन् । यो राम्रो होइन । राज्यको दायित्व श्रम गरेर जीविकोपार्जन गर्ने नागरिकको पक्षमा हुनुपर्छ, तर त्यसको विपरीत भइरहेको देखिन्छ ।”
उनले गणेश नेपाली आत्मदाह गर्नुपर्ने अवस्था किन सिर्जना भयो भन्ने विषयको सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग गरे ।
उनले भने, “गणेशले बोल्न सकुञ्जेल परिवारलाई ुमलाई यसरी प्रताडित गरिएको छु भनेका रहेछन् । त्यसैले घटनाको गम्भीर छानबिन गरी वास्तविकता बाहिर ल्याउनुपर्छ । यस्तो अवस्था निरन्तर रहिरह्यो भने त्यसले राम्रो परिणाम दिँदैन ।”
आङ्देम्बेले राइड–सेयरिङ चालकहरू स्वरोजगार श्रमिक भएको उल्लेख गर्दै उनीहरूमाथि राज्य पक्षबाट भएको दुर्व्यवहारको भर्त्सना गरे ।
उनले भने, “राइड–सेयरिङ भनेको दुई छाक खानका लागि दुःख गरेर कमाउने र परिवार पाल्ने मजदुरहरूको रोजगारीको माध्यम हो । त्यस्ता श्रमिकलाई सडक किनारामा मोटरसाइकल पार्किङ गरेको भन्दै दुर्व्यवहार गर्नु उचित होइन ।”
आङ्देम्बेले गणेश नेपालीको घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्न सरकारसँग माग गरे । साथै, राइड–सेयरिङ चालकहरूमाथि हुने दुर्व्यवहार रोक्न प्रभावकारी कदम चाल्न पनि सरकारलाई आग्रह गरे ।