© 2026
कपिलवस्तु । पछिल्लो समय मानव बेचबिखन तथा ओसारपसारको स्वरूप परिवर्तन हुँदै गएकामा कपिलवस्तुका सरोकारवालाले चासो व्यक्त गरेका छन् ।
सामाजिक विकास डिभिजन कार्यालय कपिलवस्तुले तौलिहवामा आयोजना गरेको मानव बेचबिखन तथा ओसारपसारविरुद्ध जिल्ला स्तरीय समिति एवं सरोकारवालाबिचको अन्तरक्रियाका सहभागीले सो विषयमा चिन्ता र चासो व्यक्त गरेका हुन् ।
कार्यक्रममा बोल्दै कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले सूचना प्रविधिको पहुँचका कारण मानव बेचबिखन तथा ओसारपसारको तौरतरिका बदलिएको बताए । पछिल्लो समय तडकभडकपूर्ण जीवनशैली र अरूको लवाई खवाइ देखेर हुने ‘डेमोन्स्ट्रेसन इफेक्ट’ ले मानव बेचबिखन र ओसारपसारका गतिविधिलाई प्रोत्साहन गर्न थालेको उनले स्पष्ट पारे ।
अङ्ग निकाल्न, भिजिट भिसाका नाममा भारतीय विमानस्थल हुँदै तथा प्रतिबन्धित अरब मुलुकमा हाउसमेडका रूपमा समेत ओसारपसार हुने गरेको गौतमले बताए । विगतमा जस्तो पीडकसँगै लैजान आउनेभन्दा पनि अहिले पीडकले चलाखीपूर्ण रूपमा सूचना प्रविधिको प्रयोग गरी निर्देशन दिने कार्य गर्न थालेकाले सुरक्षा निकायले समेत निगरानीको तौरतरिका परिवर्तन गरेर अगाडि बढ्न आवश्यक रहेको उनको भनाइ थियो ।
कतिपय होटेल तथा रेस्टुरेन्टमा विद्यालय तहका विद्यार्थीसमेत शोषणमा पर्ने गरेको गुनासो आएकाले ती स्थानमा प्रशासनले विशेष अभियान सञ्चालन गर्ने उनले बताए ।
जिल्लाका होटेल व्यवसायीहरूले पनि मानव बेचबिखन तथा ओसारपसारलाई कुनै सहयोग नपुग्ने गरी मर्यादित तवरले व्यवसाय सञ्चालन गर्न आवश्यक रहेको जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्यले बताए । यस्ता घटना रोक्न जिल्ला समितिको बैठक नियमित गर्न तथा सबै पक्षको सहकार्य आवश्यक रहेकोमा उनले जोड दिए ।
पछिल्लो समय बालबालिका हराउने घटना बढ्न थालेकाले सो विषयमा अभिभावकसहित सरोकारवालासमेत सचेत हुनुपर्नेमा प्रहरी उपरीक्षक मनोहर भट्टले जोड दिए । होटल व्यवसायीले व्यवसायलाई नीति–नियमभित्र रहेर व्यवस्थित बनाउनुपर्ने उनको भनाइ थियो ।
सीमा क्षेत्रमा गरिएको निगरानीको अवस्थाबारे जानकारी दिँदै शान्तिपूर्ण पुनःस्थापना केन्द्र (पीआरसी) का राष्ट्रिय उद्धार संयोजक भूमिराज भट्टराईले पीआरसीले कपिलवस्तुको कृष्णनगरसहित आठ जिल्लाका ३१ वटा सीमाविन्दुमा निगरानी गर्दै आएको बताए ।
कतिपय अवस्थामा पालिकाले बनाइदिने सिफारिस, नेटवर्किङ व्यवसायमा आबद्धता तथा टिकटकसहितका सामाजिक सञ्जालमार्फत आउने आमन्त्रणका कारण पनि बेचबिखन र ओसारपसारलाई सहयोग पुगेको उहाँले दाबी गरे ।
कार्यक्रमका सहभागीहरूले मानव बेचबिखन रोक्न बस्तीस्तरका समिति सक्रिय बनाउनुपर्ने, स्पा, डान्सबार, रेस्टुरेन्ट, फ्ल्याट सेवा तथा कारखानामा नाबालकमाथि हुन सक्ने यौन शोषणको नियमित अनुगमन गर्नुपर्ने सुझाव दिएका थिए ।
मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि सहकार्य वृद्धि गर्न कार्यक्रम सहयोगी हुने सामाजिक विकास डिभिजन कार्यालय कपिलवस्तुका प्रमुख लक्ष्मण ज्ञवालीले बताए । अपराध न्यूनीकरणलाई प्राथमिकतामा राखी नवीनतम योजनाका साथ अगाडि बढ्न उनले सुझाव दिए ।
सो अवसरमा सहायक प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेले मानव बेचबिखनको अवस्था, माध्यम, नीतिगत तथा संरचनागत व्यवस्था, कठिनाइ र समाधान विषयक कार्यपत्र प्रस्तुत गर्दै पीडितले उजुरी नगर्नु, प्रमाण सङ्कलनमा कठिनाइ हुनु, बेचबिखनको बदलिँदो आयाम तथा पीडितको उद्धार, फिर्ती, संरक्षण, पुनःस्थापना र पुनर्मिलनमा समस्या पर्ने गरेको बताए ।
जिल्ला न्यायाधिवक्ता कृष्णचन्द्र पाण्डेले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि विद्यमान कानुनी व्यवस्था र कार्यान्वयनमा सहकार्यका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
त्यसैगरी कार्यक्रममा सीमा निगरानीमा कार्यरत पीआरसीले चालु आर्थिक वर्षको हालसम्म ३६० जनाको उद्धार गरेको संयोजक दिनेश तिमल्सिनाले जानकारी दिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कपिलवस्तुका उपाध्यक्ष खगप्रसाद चापागाई, सामाजिक विकास डिभिजन कार्यालयका वरिष्ठ शिक्षा अधिकृत पुण्यप्रसाद न्यौपाने, साथी संस्थाकी संयोजक विमला घिमिरेलगायतले पीडितमैत्री वातावरण बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेकोमा जोड दिए ।