Butwal Today

अन्तर्राष्ट्रिय प्रहरी सहकार्यमा जोड : आईजीपी कार्की

२५ असार २०८३, बिहीबार
अ+
अ-

काठमाडौं । दान बहादुर कार्की ले संयुक्त राज्य अमेरिकामा जारी संयुक्त राष्ट्रसंघीय प्रहरी शिखर सम्मेलनलाई सम्बोधन गर्दै विश्वव्यापी शान्ति, सुरक्षा तथा कानूनको शासन सुदृढीकरणका लागि अन्तर्राष्ट्रिय प्रहरी सहकार्य अपरिहार्य रहेको बताए ।

उनले बदलिँदो विश्व सुरक्षा परिवेशसँगै साइबर अपराध, मानव बेचबिखन, अन्तरदेशीय संगठित अपराध, आतंकवाद, आर्थिक अपराध तथा डिजिटल प्रविधिको दुरुपयोगबाट उत्पन्न चुनौतीहरू कुनै एक राष्ट्रको प्रयासले मात्र समाधान गर्न नसकिने उल्लेख गरे। यस्ता चुनौतीको प्रभावकारी सामना गर्न सूचना आदान–प्रदान, क्षमता अभिवृद्धि, संयुक्त तालिम तथा आधुनिक प्रविधिको उपयोगमार्फत अन्तर्राष्ट्रिय सहकार्यलाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता रहेको बताए ।

आईजीपी कार्कीले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा नेपाल प्रहरीले दशकौँदेखि व्यावसायिकता, निष्पक्षता र अनुशासनका साथ योगदान दिँदै आएको उल्लेख गर्दै विश्व शान्ति स्थापनाप्रति नेपालको प्रतिबद्धता निरन्तर रहने विश्वास व्यक्त गरे। उनले महिला प्रहरीको सहभागिता विस्तार, समुदाय–प्रहरी साझेदारी, मानव अधिकारको सम्मान तथा कानूनको शासनलाई केन्द्रमा राखेर आधुनिक प्रहरी सेवाको विकासमा नेपाल प्रहरी प्रतिबद्ध रहेको धारणा पनि राखे।

सम्बोधनका क्रममा उहाँले शान्ति र सुरक्षासम्बन्धी साझा चुनौतीहरूको समाधानका लागि सदस्य राष्ट्रहरूबीच विश्वास, समन्वय र साझेदारी अझ बलियो बनाउनुपर्नेमा जोड दिँदै सुरक्षित, न्यायपूर्ण र शान्तिपूर्ण विश्व निर्माणका लागि सबै राष्ट्र एकजुट भएर अघि बढ्न आह्वान गरे । नेपाल प्रहरीका अनुसार उक्त सम्बोधनले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको सुरक्षा दृष्टिकोण, व्यावसायिक क्षमता तथा विश्व शान्तिप्रतिको दृढ प्रतिबद्धतालाई प्रभावकारी रूपमा प्रस्तुत गरे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?