Butwal Today

विरोधको शैली बदल्न विपक्षी दललाई सभामुखको आग्रह

२५ असार २०८३, बिहीबार
अ+
अ-

काठमान्डौँ ।

सभामुख डोलप्रसाद अर्यालले संसद्मा विरोध गर्ने शैली परिवर्तन गर्न विपक्षी दलहरूलाई आग्रह गरेका छन् ।

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को सीमा विवादसम्बन्धी अभिव्यक्तिप्रति प्रश्न उठाउँदै विपक्षी दलहरूले ४० दिनदेखि प्रतिनिधिसभा बैठकको सुरुमै विरोध जनाउँदै आएका छन् ।

निरन्तर एउटै विषयमा सबै विपक्षी सांसदहरूले बोल्दै विरोध जनाएपछि सभामुख अर्यालले बिहीबार विपक्षी दलहरूको तर्फबाट एक जना सांसदले धारणा राखेर बैठकलाई अगाडि बढाउने प्रस्ताव गरेका थिए । त्यसअनुसार उनले हरिनादेवी कामी लाई बोल्न समय दिएका थिए ।

तर, एक जनाले मात्र धारणा राखेर बैठक अघि बढाउने प्रस्तावमा विपक्षी दलहरू सहमत भएनन् ।

त्यसपछि सभामुख अर्यालले संसद्मा विरोध गर्ने शैली परिवर्तन गर्न विपक्षी दलहरूलाई आग्रह गरे । उनले भने, “मैले आग्रह गरेबमोजिम माननीय सदस्यहरूले विरोध गर्ने शैली पनि परिवर्तन गर्नुपर्छ । विरोध गर्दा विषयवस्तुमै केन्द्रित हुनुस्, त्यसभन्दा बाहिर नजानुस् भनेर सभामुखले बारम्बार भन्नुपर्ने अवस्था आउनु राम्रो होइन ।” उनले थपे, “जुन विषयवस्तुको आधारमा विरोध सुरु गरिएको हो, त्यही विषयभित्र रहेर आफ्ना भनाइ राख्दा त्यसको औचित्य पनि पुष्टि हुन्छ ।”

यसपछि पनि सभामुख अर्यालले विपक्षी दलको तर्फबाट एक जना सांसदले मात्र प्रतिनिधित्व गर्दै बोलिसकेकाले दैनिक कार्यसूचीमा प्रवेश गर्न आग्रह गरे ।उनले भने, “विपक्षी बेन्चतर्फ रहेका सबै माननीय सदस्यहरूलाई मेरो पुनः अनुरोध छ । एक जना माननीय सदस्यले यहाँहरू सबैको प्रतिनिधित्व गर्दै बोलिसक्नुभएको हुनाले अब हामी दैनिक कार्यसूचीमा प्रवेश गरौँ ।”

तर, विपक्षी दलहरूले सभामुखको उक्त आग्रह स्वीकार गरेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?