© 2026
काठमान्डौँ ।
सभामुख डोलप्रसाद अर्यालले विपक्षी चार दलका तर्फबाट संसद्मा बोल्न एक जना सांसदलाई मात्र समय दिएका छन् ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को अभिव्यक्तिलाई लिएर प्रतिनिधिसभामा रहेका नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले निरन्तर विरोध गर्दै आएका छन् ।
गत १७ जेठमा प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री बालेनले भनेका थिए, ‘तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्न सक्छ । प्रधानमन्त्री भएपछि मात्रै मैले पनि थाहा पाएँ, भारतले नेपालको मात्रै होइन, नेपालले पनि भारतको धेरै ठाउँको जग्गा मिचेको रहेछ ।’
प्रधानमन्त्रीको उक्त अभिव्यक्तिपछि विपक्षी दलहरूले त्यसको तथ्य प्रस्तुत गर्न वा माफी माग्नुपर्ने माग गर्दै लगातार विरोध गरिरहेका छन् ।
बिहीबार प्रतिनिधिसभाको बैठक सुरु हुनेबित्तिकै विपक्षी दलका सांसदहरू उठेर विरोध जनाएका थिए ।
त्यसपछि सभामुख डोलप्रसाद अर्यालले लामो समयदेखि एउटै विषयमा विपक्षी सांसदहरूले ध्यानाकर्षण गराउँदै आएको उल्लेख गरे ।
उनले भने, ‘सबै जनाको कुरा सुन्दा विषयवस्तु एउटै नै हुन्छ । त्यसैले सभाको मर्यादा र समयको ख्याल गर्दै विपक्षी बेन्चका तर्फबाट एक जनाले बोलेर आजको बैठक अगाडि बढाउन सहयोग गरिदिन अनुरोध गर्दछु ।’
सभामुखको आग्रहपछि विपक्षीका तर्फबाट बोल्न नेपाली कांग्रेसकी सांसद हरिनादेवी कामीलाई समय दिइयो ।
सांसद कामीले प्रधानमन्त्री बालेनको सीमा विवादसम्बन्धी अभिव्यक्तिबारे स्पष्ट जवाफ दिन सरकारसँग माग गरिन् । साथै, सुकुम्बासीको व्यवस्थापन हुन नसकेको विषयमा पनि सरकारको ध्यानाकर्षण गराइन् ।
उनले आफ्नो भनाइ सकाएपछि सभामुखले बैठकको कार्यसूची अगाडि बढाउन खोजे । तर त्यसलगत्तै विपक्षी दलका सांसदहरू पुनः उठेर विरोध जनाए । उनीहरूले विपक्षी दलका तर्फबाट एक जनालाई मात्रै बोल्न दिने व्यवस्था उचित नभएको भन्दै असन्तुष्टि व्यक्त गरे ।