Butwal Today

बुटवल प्रहरीको विशेष अप्रेशन चक्कु आक्रमणदेखि नक्कली सवारी बिक्री गर्ने गिरोहसम्म पक्राउ

२५ असार २०८३, बिहीबार
अ+
अ-

बुटवल । रुपन्देहीमा पछिल्लो समय बढ्दै गएको चोरी, लुटपाट, चक्कु आक्रमण तथा भारतबाट चोरीका सवारीसाधन नेपाल भित्र्याई नक्कली कागजात बनाएर बिक्री गर्ने आपराधिक गतिविधिविरुद्ध इलाका प्रहरी कार्यालय बुटवलले सञ्चालन गरेको विशेष अभियानमा विभिन्न घटनामा संलग्न ९ जना पक्राउ परेका छन्। अभियानका क्रममा चोरीका मोटरसाइकल, स्कुटर, सुनका गरगहना, नक्कली ब्लुबुक तयार गर्न प्रयोग हुने ल्यापटप र प्रिन्टरसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक एसएसपी जनकबहादुर शाहीले पत्रकार सम्मेलनमार्फत विभिन्न अपराधमा संलग्न गिरोहमाथि लक्षित गर्दै विशेष अभियान सञ्चालन गरिएको जानकारी दिए। उनका अनुसार असार १६ गते बुटवल उपमहानगरपालिका–११ कालिकानगरस्थित द कन्सेप्ट क्लब अगाडि गिरीराज राना र सुन्दर बगालेमाथि धारिलो हतियार चक्कु तथा हेल्मेट प्रहार गरी गम्भीर घाइते बनाएर फरार भएका बुटवल–११ का २९ वर्षीय सुमित गुरुङलाई दाङको तुलसीपुर उपमहानगरपालिका–१९ बिजौरीबाट पक्राउ गरिएको बताए । एसएसपी शाहीका अनुसार गुरुङविरुद्ध ज्यान मार्ने उद्योग मुद्दामा थप अनुसन्धान भइरहेको छ। प्रहरी अभिलेखअनुसार उनी यसअघि कर्तव्य ज्यान मुद्दामा आठ वर्ष कैद सजाय भुक्तान गरी २०८० साल असोजमा कारागारबाट छुटेका व्यक्ति हुन्।

भारतबाट चोरीका सवारी नेपाल ल्याएर नक्कली ब्लुबुक बनाउने गिरोह पक्राउ

एसएसपी शाहीले भारतबाट चोरी गरिएका मोटरसाइकल नेपाल ल्याई नेपाली नम्बर प्लेट जडान गर्ने, नक्कली सवारी दर्ता किताब ब्लुबुक तयार गरी बिक्री गर्ने गिरोह सक्रिय रहेको गोप्य सूचनाका आधारमा विशेष निगरानी र खानतलासी गरिएको बताए। यस क्रममा पाल्पा तानसेन–८ का अशोक सारु, बुटवल–१५ का सरोज उपाध्याय,बुटवल–१३ का महेन्द्र गुरुङ र बुटवल–११ का विकास केसी पक्राउ परेका छन्। उनीहरूको साथबाट ६ वटा मोटरसाइकल, ३ वटा स्कुटर, २ थान ल्यापटप र १ थान रङ्गीन प्रिन्टर बरामद गरिएको छ। प्रारम्भिक अनुसन्धानबाट ती उपकरण नक्कली ब्लुबुक तथा अन्य सरकारी कागजात तयार गर्न प्रयोग हुने गरेको खुलेको प्रहरीले जनाएको छ। एसएसपी शाहीका अनुसार पक्राउ परेका महेन्द्र गुरुङ यसअघि लागूऔषध मुद्दामा ५ वर्ष कैद सजाय र ५ हजार रुपैयाँ जरिवाना भुक्तान गरिसकेका व्यक्ति हुन् भने विकास केसी सार्वजनिक अपराध मुद्दामा सजाय भोगिसकेका अभियुक्त हुन्।

सुनको सिक्री चोरी गर्ने गिरोह पनि पक्राउ

यसैबीच, तिलोत्तमा नगरपालिका–३ शान्तिचोकमा असार १६ गते गुडिरहेको अवस्थामा एक महिलाको घाँटीबाट सुनको सिक्री थुतेर फरार भएको घटनामा संलग्न तीन भारतीय नागरिक र एक नेपाली व्यवसायी पक्राउ परेका छन्। सीसीटीभी फुटेज तथा प्राविधिक अनुसन्धानका आधारमा प्रहरीले घटनामा प्रयोग भएको लु ६५ प २९३१ नम्बरको मोटरसाइकल तथा चोरी भएका दुई थान सुनका सिक्री बरामद गरेको छ। पक्राउ पर्नेहरूमा भारत उत्तर प्रदेश गोरखपुरका राहुल जयसवाल ,उत्तर प्रदेश महाराजगञ्जका प्रिन्स जयसवाल, बिहार वाल्मीकिनगरका नितेश कुमार गुप्ता तथा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–५ का प्रदीप कान्दु बनियाँ रहेका छन्।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी निशान्त श्रीवास्तवले चोरीका घटनामा संलग्न गिरोहमाथि प्राविधिक अनुसन्धान, सीसीटीभी विश्लेषण र विशेष निगरानीका आधारमा सफलता प्राप्त भएको बताए। उनले भने, “बुटवल क्षेत्रमा हुने चोरी, लुटपाट, चक्कु आक्रमण तथा नक्कली कागजात प्रयोग गरी हुने आपराधिक गतिविधिविरुद्ध प्रहरीले विशेष अभियान सञ्चालन गरेको छ। कुनै पनि आपराधिक गतिविधिलाई छुट दिइने छैन। पक्राउ परेका सबै अभियुक्तमाथि अदालतबाट म्याद थप गरी विस्तृत अनुसन्धान भइरहेको छ।” डीएसपी श्रीवास्तवका अनुसार पक्राउ परेका प्रदीप कान्दु बनियाँ यसअघि पनि चोरीसम्बन्धी मुद्दामा दोषी ठहर भई ५० हजार रुपैयाँ जरिवाना तिरेका पुराना अभियुक्त हुन्।

एसएसपी शाहीले रुपन्देहीमा चोरी, लुटपाट, नक्कली कागजात निर्माण, सवारीसाधन चोरी र संगठित आपराधिक गतिविधि नियन्त्रणका लागि विशेष अभियानलाई निरन्तरता दिइने बताए। उनले भने, “संगठित अपराध नियन्त्रण प्रहरीको प्राथमिकतामा छ। अपराधी जुनसुकै ठाउँमा लुके पनि कानुनी दायरामा ल्याइन्छ। नागरिकको सुरक्षा सुनिश्चित गर्न विशेष निगरानी र कारबाहीलाई अझ प्रभावकारी बनाउँदै लैजान्छौँ।” प्रहरीका अनुसार पक्राउ परेका सबै अभियुक्तमाथि सम्बन्धित कसुरमा मुद्दा दर्ता गरी अदालतबाट म्याद थप गरेर थप अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?