Butwal Today

सुस्तामा सुरक्षा बल थपिने, नागरिकता समस्या समाधान गर्न गृहको निर्देशन

२४ असार २०८३, बुधबार
अ+
अ-

काठमाडौं । गृहमन्त्रालयले नवलपरासी पश्चिमको सीमावर्ती सुस्ता क्षेत्रमा सुरक्षा व्यवस्था थप सुदृढ बनाउन र नागरिकता समस्या समाधानका लागि आवश्यक कदम चाल्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ।

शुक्रबार गृह मन्त्रालयको सचिवस्तरीय निर्णयअनुसार प्रमुख जिल्ला अधिकारीलाई पत्राचार गर्दै सुस्ताको सुरक्षा अवस्था थप प्रभावकारी बनाउन आवश्यक अतिरिक्त सुरक्षाकर्मी परिचालन गर्न भनिएको हो। यसअघि असार १७ गते सुस्ता क्षेत्रका स्थानीय बासिन्दाले गृहमन्त्री सुधन गुरुङ सँग भेट गरी सीमावर्ती क्षेत्रको सुरक्षा सुदृढ बनाउन र नागरिकता सम्बन्धी समस्या समाधान गर्न माग गरेका थिए।

गृहमन्त्रालयले नागरिकता नपाएका योग्य व्यक्तिहरूको विस्तृत विवरण संकलन गरी प्रोफाइल तयार गर्न पनि निर्देशन दिएको छ। साथै, कानुनी रूपमा नागरिकता प्राप्त गर्न योग्य देखिएका व्यक्तिलाई प्रचलित नागरिकता ऐन तथा नियमावलीअनुसार नागरिकता उपलब्ध गराउन भनिएको छ। कानुनी जटिलताका कारण तत्काल नागरिकता दिन नसकिने अवस्था भए त्यसको स्पष्ट कारणसहित नीतिगत निर्णयका लागि गृहमन्त्रालयमा प्रतिवेदन पठाउन पनि जिल्ला प्रशासनलाई निर्देशन दिइएको छ।

मन्त्रालयले सीमावर्ती सुस्ता क्षेत्रमा सुरक्षा सुदृढ गर्दै स्थानीय नागरिकका समस्या समाधानमा प्रभावकारी पहल गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?