Butwal Today

वर्तमान सरकार परराष्ट्र नीतिमा गम्भीर विचलनतर्फ उन्मुख हुँदैछ : नारायणकाजी श्रेष्ठ

२४ असार २०८३, बुधबार
अ+
अ-

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले सरकारले नेपालको स्वतन्त्र र असंलग्न परराष्ट्र नीतिबाट विचलित हुने संकेत देखिएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन्। बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले राष्ट्रिय सार्वभौमिकता र स्वाधीनताविरुद्ध कुनै पनि गतिविधि नगर्न सरकारलाई चेतावनी दिएका हुन्।

श्रेष्ठले नेपालमा पछिल्लो समय विकसित घटनाक्रमप्रति आशंका व्यक्त गर्दै सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार र वर्तमान बालेन सरकारलाई दलाई लामा तथा उनको कथित सरकारको तर्फबाट बधाई आएदेखि नै यसको अन्तर्यबारे गम्भीर प्रश्न उठ्दै आएको उल्लेख गरेका छन्। साथै, दलाई लामाको उत्तराधिकारी नेपालबाटै घोषणा हुन सक्ने चर्चा पनि भइरहेको उनले बताएका छन्।

केही दिनअघि नेपालमा पहिलो पटक दलाई लामाको जन्मोत्सव सरकारी अनुमतिमा औपचारिक रूपमा मनाइएको तथा कार्यक्रममा काठमाडौंस्थित केही पश्चिमा मुलुकका कूटनीतिज्ञहरूको सहभागिता रहेको विषयलाई पनि उनले सामान्य घटनाका रूपमा लिन नहुने बताएका छन्। फेसबुकमा उनले लेखेका छन्, “यो सामान्य घटना होइन। यसले वर्तमान सरकार नेपालको परराष्ट्र नीतिमा गम्भीर विचलनतर्फ उन्मुख हुँदैछ भन्ने आशंकालाई बल पुर्‍याएको छ।”

श्रेष्ठले सरकारले असंलग्न र स्वतन्त्र परराष्ट्र नीतिबाट विचलित भएर कुनै शक्ति राष्ट्रको रणनीतिक स्वार्थ पूरा गर्ने दिशामा अघि बढे त्यसले नेपालको राष्ट्रिय सार्वभौमिकता र स्वाधीनतालाई गम्भीर जोखिममा पार्ने चेतावनी दिएका छन्। उनले लेखेका छन्, “सरकारले नेपालले लिँदै आएको स्वतन्त्र र असंलग्न परराष्ट्र नीतिलाई औपचारिकतामा सीमित गर्दै व्यवहारमा त्यसबाट विचलन भएर कुनै शक्ति राष्ट्रको रणनीतिक स्वार्थ पूरा गर्ने दिशामा अघि बढ्यो भने त्यसले नेपालको राष्ट्रिय सार्वभौमसत्ता र स्वाधीनतालाई गम्भीर संकटमा धकेल्नेछ।”

परराष्ट्र नीतिमा हुने यस्तो विचलन देशभक्त नेपाली जनताका लागि स्वीकार्य नहुने उल्लेख गर्दै उनले आवश्यक परे त्यसको सशक्त प्रतिरोध गरिने चेतावनी पनि दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?