Butwal Today

स्थानीयले पानी नपाए मेलम्चीको आपूर्ति ठप्प पार्नेछौँ : सांसद पाण्डे

२४ असार २०८३, बुधबार
अ+
अ-

काठमान्डौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजुनाथ पाण्डेले मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रका बासिन्दाले खानेपानी नपाए काठमान्डौँतर्फको पानी आपूर्ति अवरुद्ध पार्ने चेतावनी दिएका छन् ।

बुधबार बसेको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै सांसद पाण्डेले गोकर्णेश्वर नगरपालिकाका स्थानीय बासिन्दा खानेपानी अभावका कारण काकाकुल हुनुपरेको भन्दै असन्तुष्टि जनाए ।

उनले मेलम्ची आयोजनाको मुहान क्षेत्र तथा ड्याम रहेको सुन्दरीजल र गोकर्णेश्वरका बासिन्दाले समेत पर्याप्त खानेपानी नपाएको बताए । खानेपानी वितरण प्रणालीमा कर्मचारी र प्राविधिकको मिलेमतो रहेको आरोप लगाउँदै उनले त्यसकै कारण सर्वसाधारणले सास्ती खेप्नुपरेको दाबी गरे ।

कर्मचारीहरूले आफ्नो इच्छाअनुसार केही टोलमा पानी छोड्ने र केहीमा नछोड्ने गरेको आरोप लगाउँदै उनले वितरण प्रणालीको लापरबाहीप्रति आपत्ति जनाए । आफूले पनि खानेपानी जडानका क्रममा कर्मचारीको गैरजिम्मेवार व्यवहार भोगेको अनुभव सुनाउँदै सर्वसाधारणको अवस्था अझ कष्टकर रहेको बताए ।

बैठकमा उनले भने, “ड्याम गोकर्णेश्वरमा छ, तर त्यहाँका १ देखि ९ नम्बर वडासम्मका बासिन्दा पानी नपाएर तड्पिरहेका छन् । मुहान क्षेत्रका बासिन्दाले पानी नपाउने तर त्यहीँबाट अन्यत्र पानी पठाइने अवस्था अब स्वीकार्य छैन । स्थानीयको समस्या तत्काल समाधान नभए हामी ड्याम बन्द गरेर पानी रोक्न बाध्य हुनेछौँ । म अन्य नेताजस्तो आश्वासन मात्र दिने पक्षमा छैन । यदि गोकर्णेश्वरका जनताले पानी पाएनन् भने म आफैँ अगाडि लागेर पानी रोक्नेछु ।”

आरुबारी क्षेत्रमा निर्माणाधीन २ करोड लिटर क्षमताको पानी ट्याङ्कीको ठेक्का रद्द भई नयाँ प्रक्रियामा जान लागेको विषय उठाउँदै उनले दोस्रो चरणको पाइपलाइन विस्तारमा भएको ढिलाइका कारण स्थानीय थप मर्कामा परेको बताए । साथै, उनले काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) र आयोजनामा कार्यरत इन्जिनियर तथा कर्मचारीलाई कार्यशैली सुधार्न आग्रह गरे ।

कर्मचारीतन्त्रमा देखिएको ढिलासुस्ती र गैरजिम्मेवारीपनले जनतामा चरम असन्तुष्टि बढेको उल्लेख गर्दै उनले सम्बन्धित निकायलाई तत्काल स्थलगत अनुगमन गरी समस्या समाधान गर्न आग्रह गरे । आफ्नो निर्वाचन क्षेत्रका जनताको समस्या बेवास्ता गरिए पाइपलाइन अवरुद्ध गर्ने वा मुहान क्षेत्रमा नै विरोधका कार्यक्रम सञ्चालन गर्नेसम्मका कदम चाल्न आफू पछि नहट्ने चेतावनी पनि उनले दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?