© 2026
काठमान्डौँ ।
भुटानी शरणार्थीको कोटामा अमेरिका पठाइदिने नाममा ठगी गरेको आरोपमा प्रतिवादी बनाइएका ७ जना अझै फरार रहेका छन् ।
जिल्ला प्रहरी परिसर काठमान्डौँको अनुसन्धानका आधारमा सरकारी वकिलको कार्यालयले २०८० जेठमा ३० जनाविरुद्ध अदालतमा अभियोग दर्ता गरेको थियो। अभियोग दर्ता भएदेखि फरार रहेका सात जना मुद्दाको फैसला हुँदासम्म पनि पक्राउ परेका छैनन् ।
हालसम्म फरार रहेका प्रतिवादीहरू अशोक पोखरेल, धिरेन राई, दीपा हुमागाईं, नीरज राई, राजेश अर्याल, मोहनराज राई, विनीता सावदेन लिम्बु र सुनिल बुढाथोकी हुन् । उनीहरू लामो न्यायिक प्रक्रियाका क्रममा न पक्राउ परे, न त अदालतमा हाजिर भए ।
सुनसरीको इटहरी उपमहानगरपालिका–४ का अशोक पोखरेल हाल अमेरिकामा बस्दै आएको बताइएको छ । धिरेन राई कानेपोखरी गाउँपालिका–५ का हुन् ।
दीपा हुमागाईं पथरी शनिश्चरे नगरपालिका की स्थायी बासिन्दा भए पनि ललितपुरमा बस्दै आएको बताइएको छ । नीरज राई डा। इन्द्रजित राईका छोरा हुन् । तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का सुरक्षा सल्लाहकार रहेका इन्द्रजित राईलाई प्रहरीले पक्राउ गरी यसै प्रकरणमा मुद्दा चलाएको थियो ।
राजेश अर्याल काठमाडौंको जितपुरफेदीका स्थानीय हुन् । मोहनराज राई पाँचथरको मिक्लाजुङ गाउँपालिकाका हुन् । विनीता सावदेन लिम्बु मोरङको पथरी शनिश्चरे नगरपालिका–१० की बासिन्दा हुन् भने सुनिल बुढाथोकी झापाको गौरादह नगरपालिकाका स्थानीय हुन् ।
असार २३ गते काठमाडौं जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काले शरणार्थी प्रकरणको अन्तिम सुनुवाइ गर्दै फरार प्रतिवादीका हकमा मुद्दा मुल्तबीमा राख्ने आदेश दिएका छन् । फैसलामा भनिएको छ, ‘प्रस्तुत मुद्दा मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ९८ बमोजिम मुल्तबीमा रहने ठहर्छ ।’
काठमान्डौँ जिल्ला अदालतका श्रेस्तेदार घनेन्द्र अधिकारीका अनुसार हाल कसुर ठहरको आदेश मात्र भएको छ । पूर्ण फैसला आएपछि फरार प्रतिवादीका सम्बन्धमा पनि आवश्यक व्याख्या हुनेछ ।
महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता (सहन्यायाधिवक्ता) अच्युतमणि नेउपानेका अनुसार फरार प्रतिवादी पक्राउ परे वा अदालतमा उपस्थित भएमा उनीहरूको हकमा पुनः सुनुवाइ सुरु हुन्छ । उनले भने, ‘प्रतिवादी हाजिर नभएमा तीन वर्षपछि अदालतले मुद्दा पुनः जगाएर फैसला गर्ने कानुनी व्यवस्था छ ।’