Butwal Today

सन्धिखर्कमा कर शिक्षा, सुविधा लिन करदातालाई आग्रह

२४ असार २०८३, बुधबार
अ+
अ-

अर्घाखाँची । आन्तरिक राजस्व कार्यालय कृष्णनगर, कपिलवस्तुको आयोजनामा सन्धिखर्क नगरपालिकामा आर्थिक ऐन, २०८३ ले प्रदान गरेका कर छुट तथा सहुलियत (स्किम) सम्बन्धी कर शिक्षा कार्यक्रम सम्पन्न भएको छ ।

करदातालाई सरकारले ल्याएको नयाँ व्यवस्था, छुट तथा सहुलियतबारे जानकारी गराउँदै बढीभन्दा बढी करदातालाई कानुनी दायरामा ल्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा आन्तरिक राजस्व कार्यालय कृष्णनगरका प्रमुख कर अधिकृत कृष्ण प्रसाद न्यौपानेले आर्थिक ऐन, २०८३ मा समेटिएका कर छुट तथा सहुलियतका व्यवस्थाबारे विस्तृत जानकारी गराउँदै सरकारले करदातालाई लक्षित गरी ल्याएका अवसरको अधिकतम उपयोग गर्न आग्रह गरे । उनले तोकिएको समयभित्र आवश्यक प्रक्रिया पूरा गरेमा विभिन्न प्रकारका छुट तथा सहुलियत प्राप्त गर्न सकिने भएकाले करदाताले यसलाई गुमाउन नहुने बताए ।

सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले सरकारले ल्याएको कर छुट तथा सहुलियतको व्यवस्थाबाट सम्बन्धित सबै करदाताले लाभ लिनुपर्नेमा जोड दिए । उनले समयमै कर विवरण बुझाउने, बाँकी कर फर्छ्यौट गर्ने तथा करको दायराबाहिर रहेका व्यक्ति तथा व्यवसायीलाई कानुनी प्रक्रियामा आउन आग्रह गर्दै यस्ता कार्यक्रमले कर सचेतना अभिवृद्धिमा महत्त्वपूर्ण योगदान पु¥याउने बताए ।

आर्थिक ऐन, २०८३ ले प्रदान गरेका विभिन्न छुट तथा सहुलियतबारे विस्तृत जानकारी दिइएको थियो। जसअनुसार हालसम्म कर विवरण नबुझाएका करदाताले तोकिएको अवधिभित्र विवरण बुझाउन सक्ने व्यवस्था गरिएको छ । त्यस्तै कर बक्यौता रहेका करदाताले विशेष छुट सुविधासहित आफ्नो बक्यौता फर्छ्यौट गर्न सक्ने प्रावधान रहेको छ ।

अन्तःशुल्क नबुझाएका उद्योग तथा व्यवसायीले पनि ऐनले व्यवस्था गरेका सहुलियतको उपयोग गर्न सक्ने तथा हालसम्म करमा दर्ता नभएका व्यक्ति वा व्यवसायीले करमा दर्ता भई कानुनी दायरामा आउन सक्ने व्यवस्था रहेको छ ।

कर अधिकृत पीताम्बर न्यौपानेले कर प्रणालीलाई अझ व्यवस्थित, पारदर्शी र करमैत्री बनाउन सरकारले विशेष व्यवस्था गरेको उल्लेख गर्दै करदाताले समयमै विवरण बुझाउने र कर दायित्व पूरा गर्ने संस्कृतिको विकास आवश्यक रहेको बताए । उनले कर तिर्नु कानुनी दायित्व मात्र नभई राष्ट्र निर्माणमा नागरिकको महत्त्वपूर्ण योगदान पनि भएको धारणा राखे ।

कर प्रशासन र करदाताबिचको सहकार्य बलियो भएमा राजस्व सङ्कलन प्रभावकारी हुने र आर्थिक गतिविधि थप व्यवस्थित बन्ने कर अधिकृत महेन्द्र पुरीले बताएका छन् ।

सहभागीहरूले यस्ता कर शिक्षा कार्यक्रमले कर सम्बन्धी अन्योल हटाउन, कानुनी व्यवस्थाबारे जानकारी बढाउन तथा सरकारद्वारा उपलब्ध गराइएका सुविधाको समयमै उपयोग गर्न महत्त्वपूर्ण सहयोग पुग्ने बताएका थिए।

कार्यक्रमले करदाता र कर प्रशासनबिचको समन्वय तथा विश्वास अभिवृद्धि गर्दै स्वच्छ, पारदर्शी र जिम्मेवार कर प्रणाली निर्माणमा सकारात्मक योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?