Butwal Today

प्रधानमन्त्री बालेन शाह र एडीबी अध्यक्ष मासातो कान्दाबीच भेटवार्ता

२३ असार २०८३, मंगलवार
अ+
अ-

काठमान्डौँ ।

प्रधानमन्त्री बालेन शाहसँग एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्दाले भेटवार्ता गरेका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटमा नेपालको विकास, द्विपक्षीय सहकार्य तथा एडीबीले नेपाललाई उपलब्ध गराउँदै आएको सहयोगका विषयमा छलफल भएको थियो ।

जेनजी आन्दोलनपछि बालेन शाह प्रधानमन्त्री नियुक्त भएलगत्तै कान्दाले सामाजिक सञ्जाल एक्समार्फत नेपालका विकास प्राथमिकतामा एडीबीले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

कान्दाको नेपाल भ्रमणकै क्रममा एडीबीसँग नेपालले १६ करोड ५० लाख अमेरिकी डलर (करिब २५ अर्ब रुपैयाँ) बराबरको सहुलीयतपूर्ण ऋण लिने सम्झौता पनि गरेको छ । सोमबार अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र एडीबी अध्यक्ष कान्दाको उपस्थितिमा दुई आयोजनामा लगानी गर्ने उद्देश्यले उक्त ऋणसम्बन्धी सम्झौतामा हस्ताक्षर गरिएको हो ।

सम्झौतामा नेपाल सरकारका तर्फबाट अर्थसचिव डा. घनश्याम उपाध्याय र एडीबीका नेपालस्थित आवासीय नियोगका देशीय निर्देशक आनो कुश्वाले हस्ताक्षर गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?