© 2026
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
बोर्डका अनुसार ग्रेडवृद्धि परीक्षामा १ लाख २९ हजार ११४ जना विद्यार्थी सहभागी भएका थिए । तीमध्ये ८३ हजार ५२३ जना उत्तीर्ण भएका छन् । यो कुल सहभागी परीक्षार्थीको ६४.६९ प्रतिशत हो ।
जीपीएका आधारमा सबैभन्दा धेरै ५१ हजार ४३८ विद्यार्थीले २.४० देखि २.८० सम्म जीपीए प्राप्त गरेका छन् ।
त्यस्तै, १६ हजार ४६७ जनाले २.८० देखि ३.२०, १४ हजार ३६२ जनाले २.०० देखि २.४०, १ हजार १९५ जनाले ३.२० देखि ३.६०, ४५ जनाले १.६० देखि २.०० तथा १६ जनाले ३.६० देखि ४.०० सम्म जीपीए हासिल गरेका छन् । ०.८० देखि १.२० र १.२० देखि १.६० जीपीए प्राप्त गर्ने विद्यार्थी भने कोही पनि छैनन् ।
बोर्डले नतिजा वेबसाइट, आईभीआर तथा एसएमएस/यूएसएसडी सेवामार्फत हेर्न सकिने जनाएको छ । साथै, नतिजामा चित्त नबुझेका परीक्षार्थीले बोर्डले तोकेको अवधिभित्र अनलाइनमार्फत पुनर्योगका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।
यसैबीच, परीक्षा मर्यादाविपरीत कार्य गरेको आरोपमा केन्द्राध्यक्षबाट सिफारिस गरिएका ७ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ ।